एमाले छोडे लेखराजका भाइ गोकर्णले

धनगढी, कात्तिक १४ गते / नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य गोकर्ण भट्टले पार्टी र पद दुवै परित्याग गरेका छन्। उनले अब स्वतन्त्र नागरिकको हैसियतमा समाजसेवा र जनहितका कार्यमा समर्पित रहने घोषणा गरेका छन्।
एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका सहोदर भाइ रहेका गोकर्ण भट्टले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका सन्देशमा पार्टीभित्र बढ्दो गुटबन्दी, अवसरवाद, धन र डनको प्रभाव, यौनवादजस्ता विकृति प्रति तीव्र असन्तोष व्यक्त गरेका छन्।
“इमानदार र समर्पित कार्यकर्ताको सम्मान हुने संस्कृतिको अन्त्य भइसकेको छ,” उनले लेखेका छन्, “सत्ता र स्वार्थका लागि दलहरू अवसरवादको दलदलमा डुबेका छन्। त्यसैले अब एमालेमा रहनुको अर्थ छैन।”
भट्टले २०७५ सालमा एमाले र माओवादी एकीकरणपछि गोदावरी नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी गोदावरी नगरपालिकाको मेयरका उम्मेदवार बनेका थिए।
राजनीतिक यात्राको क्रममा कैयौं पटक गिरफ्तारी र यातना भोगेको अनुभव साझा गर्दै उनले भनेका छन्, “बाल्यकालदेखि संघर्ष गर्दै आएको छु, तर न्याय र परिवर्तनप्रतिको आस्था कहिल्यै हराएको छैन।”
अब उनले राजनीति होइन, समाज र राष्ट्रका लागि आफ्नो ज्ञान, अनुभव र क्षमतालाई समर्पित गर्ने बताए। “देश दुई ठूला दलको अपवित्र गठबन्धन र भ्रष्टाचारको दलदलमा डुबेको छ। अब आत्मालोचना गर्दै नयाँ बाटो रोजेको छु,” भट्टको भनाइ छ।




