१९ मंसिर २०८२, शुक्रबार

विवाहको दबाबका कारण शिक्षिकाको आत्महत्या, शिक्षा अधिकृत पक्राउ




डोटी, कात्तिक १२ गते/ बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत गणित शिक्षिका जानकी खड्काको आत्महत्याले स्थानीय समुदाय स्तब्ध भएको छ। सुसाइड नोटमा उनले जिल्ला शिक्षा समन्वय इकाई डोटीका शिक्षा अधिकृत गणेशबहादुर रावलले विवाहको लागि निरन्तर दबाब दिँदै धम्की दिएको खुलासा गरेकी छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका–१ घर भएकी २७ वर्षीया जानकी हाल कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत थिइन्। उनले मृत्युअघि आफ्ना बुबा र भाइलाई सम्बोधन गर्दै लेखेकी छिन् — “ड्याडी, म हजुरको सपना पूरा गर्न सकिनँ। धेरै सहन खोजेँ तर दबाब झेल्न नसकेरै यो बाटो रोजेँ।”

खड्का घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

फेसबुकमार्फत सम्पर्क, धम्की र मानसिक पीडा
सुसाइड नोटअनुसार, शिक्षा अधिकृत रावलले सामाजिक सञ्जाल फेसबुकबाट जानकीसँग सम्पर्क गरेका थिए। त्यसपछि उनले बारम्बार विवाहका लागि प्रस्ताव गर्दै अस्वीकार गरेपछि धम्की दिन थालेका थिए।
जानकीका भाइ प्रदीपलाई समेत फोन गरी रावलले भनेका थिए —“तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु।”

यस किसिमको धम्कीपछि जानकी गहिरो मानसिक तनावमा परेकी थिइन्। पत्रमा उनले लेखेकी छन् —

“न मैले उसलाई भेटेकी छु, न देखेकी। सबै उसका नाटक हुन् मलाई फसाउने। म कसैको श्रीमान् भइसकेको मान्छेसँग बाँच्न सक्दिनँ।”

आत्महत्या र अनुसन्धान
सपना र क्षमताले भरिपूर्ण जानकीले कार्तिक १० गते बिहान घरभन्दा करिब ७ सय मिटर टाढा खोला किनारको रुखमा झुण्डिएको अवस्थामा ज्यान दिएकी थिइन्।
विद्यालय तहदेखि नै उत्कृष्ट विद्यार्थी रहेकी उनले नेपाल सरकारको अधिकृत बन्ने लक्ष्य बोकेकी थिइन्।

उनका बुबा चक्रबहादुर खड्काले शिक्षा अधिकृत रावलविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले कार्तिक ११ गते रावललाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

परिवार र साथीहरू शोकमा
जानकीको असामयिक निधनले उनको परिवार, साथीभाइ र विद्यालय समुदायलाई गहिरो दुःखमा डुबाएको छ। उनका साथीहरूले उनलाई मेहनती, नम्र र लक्ष्यप्रति समर्पित व्यक्ति भन्दै सम्झिएका छन्।
सञ्चारकर्मी सरिता कठायतका अनुसार, “यो घटना महिलामाथि हुने मानसिक र सामाजिक दबाबको भयावह चित्र हो। यसले न्याय प्रणालीमाथि पनि ठूला प्रश्नहरू उठाएको छ।”

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार