१८ मंसिर २०८२, बिहीबार

आफू ( मलाई ) लाई प्रधानमन्त्री बनाउ भन्ने माग आउने छ : ओली




काठमाडौं, कात्तिक २ गते
/ नेकपा (एमाले) का अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको बताएका छन् ।

आइतबार प्रेस चौतारी नेपालले आयोजना गरेको सम्पादकसँगको छलफलमा बोल्दै ओलीले विदेशीले चलाएका कठपुतलीसँग आफू अँध्यारो मुख लगाएर नहिँड्ने बताए। उनले अहिलेको सरकारले आफूलाई देश भित्र हिँडडुल गर्न समेत रोक लगाउने निर्णय गरेको बताउँदै उहाँले यो कस्तो सरकार भन्दै प्रश्न गरे ।

आफूमाथि सुरक्षा चुनौती भएको बेला सरकारले आफ्नो सुरक्षा फिर्ता लिएको ओलीले बताए । सरकारले आफ्ना गिरोहका मानिसहरूको सुरक्षा बढाएको र आफ्नो सुरक्षा हटाएको उनको भनाइ छ ।

भोली आफूलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने माग आउने भन्दै त्यो कुरा सम्पादकले नै भन्न बाध्य हुने ओलीको दाबी छ । ‘तपाईँहरूले सम्पादकीय लेखेर भन्नु हुने छ केपी ओली फिर्ता लाउनु पर्छ, विशेष सम्पादकीय लेखेर भन्नु हुने छ’, उनले भन्नुभयो ।

ओलीले भदौ २३ को घटनामा गोली चलाउने आदेश आफूले नदिएको र त्यो आदेश दिने अधिकार प्रधानमन्त्रीको नभएको बताउनुभयो । आफूले दिँदै नदिएको आदेशको जिम्मा लिन नसक्ने ओलीले स्पष्ट पारे। ‘मेरै घर जलाइएको छ, मेरै बाउको घर जलाइएको छ, म जिम्मेवार हुनु पर्ने ? मेरो घर मैले नै जलाएँ त ? उनले प्रश्न गरे।

जेनजी आन्दोलनका नाममा आपराधिक क्रियाकलाप भएको बताउँदै उनले त्यसका विरुद्ध पत्रकारहरू समेत बोल्न नसकेको ओलीले गुनासो गरे । ‘यो नराम्रो काम भयो भनेर हाम्रो मिडियाले बोल्नु पर्छ, लेख्न सक्नुपर्छ’, उनले भने ।

संसद् स्थापना बाहेक अरू कुनै विकल्प नरहेको बताउँदै ओलीले त्यो विषयको सम्पादकहरूले पनि समर्थन गर्नुपर्ने बताए । आफूले संसद् विघटन गर्दा प्रतिगमन भयो भन्ने सम्पादकहरूले अहिले संसद् विघटनको समर्थन जनाउन आश्चर्यजनक भएको उनले सुनाए ।

निर्वाचनबाट छानिने कुरा आफूलाई प्यारो भए पनि अपराधी र बन्दुक बाहिर राखेर चुनाव हुन नसक्ने ओलीको भनाइ छ । एमालेले चुनाव बहिष्कार गर्न खोजेको नभई यो सरकारले चुनाव नै गराउन नसक्ने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार