१८ मंसिर २०८२, बिहीबार

साना उद्यमीहरूका लागि उद्यमशिलता सचेतना अभिमुखीकरण



कैलारी गाउँपालिकाका साना उद्यमीहरूका लागि एक दिने उद्यमशिलता सचेतना अभिमुखीकरण कार्यक्रम भएको छ ।

सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको आयोजना तथा यूनिसेफको सहयोग र कैलारी गाउँपालिकाको समन्वयमा किशोरी सशक्तीकरण परियोजना अन्तर्गत साना उद्यमीहरूका लागि उद्यमशिलता सचेतना अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

उद्यमीहरूलाई उद्यमीशिलता सम्बन्धी ज्ञान, सीप र सोच विकास गराउने, सहभागिताहरूलाई स्थानीय व्यवसायिक अवसर पहिचान, व्यवसाय सामान्य योजना तयार गर्न र आर्थिक व्यवस्थापनमा आधारभूत ज्ञान दिनको लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको कार्यक्रम संयोजक तिलक चौधरीले बताए ।

कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा उनले उद्यम साना–साना पुँजीमा गर्न सकिने बताए ।

व्यवसाय गर्न उद्यमी बन्ना ठूलो पुँजी होइन्, इच्छाशक्ति भए सानो पुँजीबाट सुरुवाट गरी त्यसलाई आवश्यकता र मागको आधारमा विस्तारै ठूलो बनाउदै लैजान सकिने उनले बताए । गाउँपालिकाबाट बेरोजगार युवाहरूलाई स्थानीयस्तरमा रोजगार बनाउन विभिन्न किसिमको तालिम सञ्चालन गरी सीपसँगै आयआर्जन बढाउने कार्यक्रम सञ्चालन गरिएको बताए ।

सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीका कार्यकारी निर्देशक हेमराज जोशी साना लगानीबाट सञ्चालन भएको उद्यमी फस्टाउँदै गएको देखिएको बताए । साना लगानीका व्यवसाय जोखिम कम रहेको र जतिमेहनेत त्यति राम्रो बनाउन सकिने बताए ।

सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको कार्यक्रम अधिकृत करुणा चौधरी यूनिसेफको सहयोगमा कैलारी गाउँपालिकाका विभिन्न वडाका १५ जना परिवारलाई साना उद्यमका लागि आर्थिक सहयोग गरिएको बताए ।

जसमा रुपान्तरण कक्षा लिई रहेका बाल संरक्षणका जोखिममा रहेका पाँच जना परिवारलाई २० हजारका दरले आयआर्जनमा लगानी गर्नको लागि सहयोग गरिएको छ । भने अति सीमान्तकृतभित्र पर्ने सामाजिक सुरक्षाको दृष्टिको जोखिममा रहेका १० जना परिवारलाई २५ हजारका दरले सहयोग गरिएको बताए । सिडिसीबाट सहयोग पाएपछि आफूहरूले बाख्रा पालन सुरुवाट गरिएको कैलारी–७ का हरिशंकर चौधरीले बताए ।

अभिमुखीकरण कार्यक्रममा सहजीकरण तथा प्रशिक्षण दलबहादुर ओलीले गरेका थिए । एक दिने अभिमुखीकरण कार्यक्रममा उद्यमशिता के हो ?, जोखिम र जोखिम व्यवस्थापन (वित्तीय सारक्षरता, बचत, विमा), सफल उद्यमका लागि व्यवसाय योजना परिचय, आर्थिक व्यवस्थापन र बजार पहँुचबारे प्रशिक्षण दिइएको थियो ।

अभिमुखीकरण कार्यक्रममा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको फाइनन्स अधिकृत चन्दन विक, सामाजिक परिचालक सकुन्तला चौधरीलगायत १६ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार