लगातारको वर्षाका कारण तीन दिन काठमाडौं उपत्यकामा सवारी आवागमन रोक (फोटो फिचरसहित)
काठमाडौं उपत्यकामा सवारी आउन र जान तीन दिनका लागि बन्द
निरन्तरको भारी वर्षा र पहिरोको जोखिमका कारण निर्णय
कैलालीमा ८३.२ मिमी, पर्सा र बारामा पनि उल्लेखनीय वर्षा
आज र भोलि अझ भारी वर्षाको सम्भावना
बागमती, मधेस लगायतका प्रदेशहरूमा उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुर र काठमाडौ छुट्याउने मनहरा नदीमा आएको बाढी । फोटो : अनुमोदन खबर
काठमाडौं / निरन्तरको भारी वर्षाका कारण काठमाडौं उपत्यकामा सवारी साधन प्रवेश र बाहिरिने कार्यमा तीन दिनका लागि रोक लगाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रामा जोखिम बढेको भन्दै असोज १८ गतेदेखि ३ दिनसम्म उपत्यका भित्रिने र बाहिरिने सबै सवारी आवागमन बन्द गरिएको जनाएको छ।
प्राधिकरणका विपद् कार्यप्रमुख रामबहादुर केसीले उपत्यकामा तथा देशभर विभिन्न स्थानमा भइरहेको लगातारको झरी र पहिरोको सम्भावनालाई ध्यानमा राख्दै यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको जानकारी दिए।
प्राधिकरणले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “निरन्तरको वर्षाका कारण राजमार्गहरूमा पहिरो खस्ने, बाटो अवरुद्ध हुने, र दुर्घटनाको जोखिम अत्यधिक भएकाले जोखिम न्यूनिकरणका लागि काठमाडौं उपत्यकामा प्रवेश र निर्गमन पूर्ण रूपमा बन्द गरिएको छ।”
यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल काठमाडौं उपत्यकासहित देशका धेरै स्थानहरूमा भारी वर्षा भइरहेको छ। शनिबार बिहानदेखि काठमाडौंमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा ५ मिलिमिटर वर्षा मापन गरिएको छ। तराईका पर्सा र रौतहटमा पनि क्रमशः १० र १०.६ मिलिमिटर वर्षा भएको छ भने पछिल्लो १२ घण्टामा कैलालीको गर्भामा सबैभन्दा बढी ८३.२ मिलिमिटर वर्षा भएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार विशेष गरी बागमती र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र कोशी प्रदेशका केही भागहरूमा अहिले पनि मेघगर्जनसहितको हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम प्रणाली पूर्व–उत्तरपूर्वतर्फ सरेको हुँदा ती क्षेत्रहरूमा अझै केही दिन वर्षा कायमै रहने अनुमान गरिएको छ।
विभागले आज र भोलि अझ धेरै वर्षा हुन सक्ने र राततिर अझ तीव्र हुने चेतावनी दिँदै नागरिकहरूलाई अत्यधिक सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र आधिकारिक सूचनामा भर पर्न आग्रह गरेको छ।






