१८ मंसिर २०८२, बिहीबार

ट्रम्पको आदेश : H-1B भिसामा कडाई



अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले H-1B भिसा दुरुपयोग भएको भन्दै नयाँ प्रतिबन्धात्मक आदेश जारी गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, अब अमेरिकी रोजगारका लागि H-1B भिसामा विदेशबाट आउने कामदारलाई प्रवेश दिन कम्पनीहरूले १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ ।

राष्ट्रपति ट्रम्पले जारी गरेको घोषणामा H-1B भिसा प्रणालीलाई व्यापक रूपमा दुरुपयोग गरी अमेरिकी कामदारलाई प्रतिस्थापन गरिएको, तलब घटाइएको र रोजगारी गुमाइएका कारण यस्तो कदम चालेको उल्लेख गरिएको छ । विशेषगरी सुचना प्रबिधि (IT) तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) क्षेत्रमा अमेरिकी युवालाई रोजगारी पाउन कठिन भएको र हजारौँ अमेरिकी कामदारलाई निकालेर विदेशी कामदार भित्र्याइएको तथ्यांक प्रस्तुत गरिएको छ ।

यो प्रतिबन्ध भोलि २०२५ सेप्टेम्बर २१ देखि नै लागू हुने र १२ महिनासम्म जारी रहनेछ । तर, अमेरिकी गृह मन्त्रीको सिफारिसमा राष्ट्रिय हितअनुकूल ठहरिने कामदारलाई अपवादका रूपमा अनुमति दिने व्यवस्था गरिएको छ ।

ट्रम्प प्रशासनको यस कदमले सुचना प्रबिधि (IT) तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) क्षेत्रमा अमेरिकामा आफ्नो भविष्य देखिरहेका युवाहरूलाई गम्भीर झट्का लागेको छ ।

ट्रम्पले भनेका छन्, ‘H-1B कार्यक्रम दुरुपयोग भएर अमेरिकी कामदारको रोजगारी र तलबमा गम्भीर असर परेको छ, अब यसको दुरुपयोग सह्य छैन ।’

यो घोषणाले H-1B भिसालाई प्रभावित गरेपनि O-1 वा J-1 लगायत अन्य भिसालाई भने प्रभावित गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार