दोषीमाथि कडा कारबाहीको माग : नेपाली कांग्रेस सुदूरपश्चिम

धनगढी/ सुदूरपश्चिम प्रदेशको नेपाली कांग्रेस संसदीय दलले जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएका घटनामा संलग्न दोषीहरूलाई तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले हत्या, आगजनी, लुटपाट, तोडफोड र सार्वजनिक सम्पत्तिमा क्षतिको छानबिन गरी जिम्मेवारहरूमाथि कारबाही गर्न संघीय तथा प्रदेश सरकारलाई आग्रह गरेको हो।
बैठकले जेनजी आन्दोलनले उठाएका भ्रष्टाचारविरुद्धका मागलाई सम्बोधन गर्न सरकारलाई तत्काल पहल गर्न अनुरोध गरेको छ।
यस्तै, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. आरजु राणा देउवामाथि भएको आक्रमणको भर्त्सना गर्दै कांग्रेसले दोषीको खोजी गरी कारबाहीको माग गरेको छ।
साथै, आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिक, युवा र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। दलले पुनर्निर्माणमा सबैलाई जुट्न पनि अपिल गरेको छ।




