पुनर्निर्माणमा एकताका साथ अघि बढ्न मुख्यमन्त्री शाहको आग्रह

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हालैको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाहरूको पुनर्निर्माणमा सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।
मंगलबार आन्दोलनका कारण क्षति पुगेका कार्यालयहरूको निरीक्षणपछि मुख्यमन्त्री शाहले राज्य संयन्त्र पुनः सक्रिय पार्न निर्देशन दिएका छन्। उनले भने, “मैले सबै निकायहरूलाई यथासक्य छिटो सेवा सुरु गर्न निर्देशन दिएको छु।”
शाहका अनुसार, धेरैजसो कार्यालयहरूले सेवा सञ्चालनको तयारी गरिरहेका छन् भने केही स्थानमा सेवा पुनः सञ्चालन भइसकेको छ। उनले मन्त्रीहरू, सचिवहरू र सम्बन्धित प्रमुखहरूलाई दुई–चार दिनभित्र संरचनाहरूको सरसफाइ गरेर सेवा सुचारु गर्न निर्देशन दिएका छन्।
भदौ २३ र २४ गतेका घटनालाई ‘अकल्पनीय र दुखद’ भन्दै मुख्यमन्त्रीले मृतक परिवारप्रति समवेदना र घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरे।
मुख्यमन्त्रीले प्रदेश सरकारअन्तर्गत २५ भन्दा बढी सरकारी निकायको निरीक्षण गरे। तीमध्ये प्रदेश सभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विभिन्न मन्त्रालयहरू, जिल्ला प्रशासन कार्यालय, अदालत, मालपोत, नापी, भन्सार, वन डिभिजन, यातायात कार्यालय लगायत रहेका छन्।
सामाजिक विकास मन्त्रालयले धेरै सेवा सम्हाल्ने भएकाले त्यसको शीघ्र पुनःसञ्चालनको लागि मन्त्री मेघराज खड्कालाई निर्देशन दिइएको छ।
त्यस्तै, धनगढीबाट सेवा दिन कठिन भएको अवस्थामा टीकापुर इलाका प्रशासन कार्यालयमार्फत सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिइएको छ।




