१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री कार्कीसँग अध्यक्ष दाहालको भेट, समसामयिक राजनीतिमा सहकार्यको सन्देश



काठमाडौं/ राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सम्पन्न भएको छ।

अध्यक्ष दाहालले प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देशको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे छलफल गरेका छन्।

प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीचको कुराकानीमा मुलुकको विकसित राजनीतिक घटनाक्रम, राष्ट्रिय स्थायित्व, तथा समसामयिक चुनौतीहरूको विषय प्रमुख रूपमा उठान भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ।

भेटका क्रममा अध्यक्ष दाहालले संघीय संसद भवन बानेश्वर र सिंहदरबारस्थित संसद सचिवालयमा भएको क्षति तथा राष्ट्रिय सभाको कामकारबाहीबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाले शान्ति, स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न सक्ने महत्वपूर्ण निकायको भूमिका निर्वाह गर्ने भन्दै, वर्तमान संकट समाधानमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेकी छन्।

यस भेटलाई राजनीतिक सहकार्य र समन्वयको संकेतको रूपमा हेरिएको छ, जहाँ कार्यकारी प्रमुख र संघीय संसदबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार