रेशमलाल चौधरीले छोडे नागरिक उन्मुक्ति पार्टी
आफैले निर्माण गरेको नागरिक उन्मुक्ति पार्टीबाट सो पार्टीका संरक्षक रेशमलाल चौधरी अलग हुनु भएको छ ।
व्यक्तिगत अहंकार र स्वेच्छालाई जित्न नसकेको भन्दै उनले आइतबारदेखि नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् । पार्टीमा रहेका महा फटहाहरूका कारण व्यक्तिगत रुपमा अलमलिनुभन्दा बाटो बद््लेको चौधरीको भनाइ छ ।
“मैले नागरिक उन्मुक्ति पार्टीको गीत, विधान लेखें । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो”, उनले भने, “तर, व्यक्तिगत अहंकार र स्वेच्छालाई जित्न सकेन । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता दामोदर पण्डितसंग मेरो कुनै दुस्मनी छैन ।”
२०७८ देखि २०८२ सम्म बिजुली पानीको बिल आफैले तिरेर पार्टी चलाए पनि जस नपाएको चौधरीको गुनासो छ । उनले टीकापुुर घटनाको राजबन्दीको रिहाइ जस्ता नागरिक उन्मुक्ति पार्टीले राम्रो काम गरे पनि पछिल्ला दिनमा भएका गतिविधिलाई आफूले सम्झन पनि नचाहेको उनले उल्लेख गरे । चौधरीले भने, “बरु मा जेलमा हुँदा दुई घण्टा भए पनि निदाएँ तर, बाहिर सकेन । कैयौं रात अनिदो बितेका छन् ।”
आफू राजनीतिक व्यक्ति रहेका कारण पार्टी बिना बस्न नसुहाउने भन्दै उनले आजको दिनबाट नयाँ दल र संगठन निर्माणमा जुट्ने बताए । चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल बनाउने र त्यसको चुनाव चिन्ह पहिचानकै रहने उल्लेख गर्नु भएको छ । आफूलाई राजनीति गर्ने अधिकार रहेको भन्दै उनले आफ्नो आन्दोलन र भावनालाई बुझ्नेहरू आफूसंगै रहने बताए । उनले भने, “मलाई ठग होइन, मेरो पार्टी र पहिचानको आन्दोलन बुझ्ने कार्यकर्ता चाहिएको छ ।”
टीकापुर घटनामा दोषी ठहर भइ रेशम जेलमा रहेको बेला २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । स्थापनाको छोटोे समयमै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले अपल्पनीय जित हात पारेको थियो । तर, गतवर्षदेखि सो पार्टीमा आन्तरिक विवाद बढ्दै गएको छ । नागरिक उन्मुक्तिका संरक्षक चौधरी र पार्टी अध्यक्ष एवम् उनकी श्रीमती श्रेष्ठबिचको विवाद बढ्दै गएपछि नागरिक उन्मुक्ति पार्टीभित्र दुई धार देखिन्छ ।




