ओलीको अध्यक्षमा पुनः फर्कने बाटो खुला, विद्याको सदस्यता भने अन्योलमै

काठमाडौं/ नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन सकिँदा पार्टीको नेतृत्व संरचनामा महत्त्वपूर्ण परिवर्तन भएको छ। ७० वर्षे उमेर सीमा हटाइएको र अध्यक्षको लागि दुई कार्यकालको सिमा पनि हटाइएपछि केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि पुनः अध्यक्ष बन्ने वैधानिक बाटो खुला भएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवेदनहरू पारित गरेको छ।
विद्याको सदस्यता विवाद टुंगिएन

तस्बिर : सामाजिक सञ्जाल
महाधिवेशनमा सबैभन्दा बढी चर्चा भएको विषय भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरणको रह्यो। यद्यपि, प्रतिवेदनमा यसबारे कुनै स्पष्ट निर्णय नभएपछि विषय समूहगत छलफलमै सीमित रह्यो। नेताहरूका अनुसार केन्द्रीय कमिटीको पुरानो निर्णय—नविकरण नहुने—प्रभावकारी रूपमा यथावत् रहने देखिन्छ।
समूहगत छलफल: ओलीको नेतृत्वलाई व्यापक समर्थन
महाधिवेशनको दोस्रो दिन १० वटा समूहमा विभाजन गरी विधान र राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो। अधिकांश समूहका नेताहरूले वर्तमान अवस्थामा ओलीको विकल्प नभएको बताएका छन्।
- सुदूरपश्चिमबाट कृष्णप्रसाद जैशीले “अध्यक्ष ओली नै उपयुक्त विकल्प हुन्” भन्दै समर्थन जनाए।
- कर्णालीका गुलाबजंग शाहले “नेतृत्व थप मजबुत बनाउने समय” आएको बताए।
- लुम्बिनीका राधाकृष्ण कँडेलले समाजवाद निर्माणका लागि एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए।
- गण्डकीका मीनप्रसाद गुरुङले प्रतिवेदनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दिशामा स्पष्ट मार्गचित्र दिएको बताए।
विधान संशोधनमा प्रायः सहमति
विधान संशोधनको प्रसंगमा ७० वर्षे उमेर सीमा र अध्यक्षका लागि कार्यकालको हद हटाउने विषयमा अधिकांश समूहले समर्थन जनाएका छन्।
- बागमतीका कैलाश ढुंगेलका अनुसार अधिकांश सदस्यले हद हटाउन समर्थन गरेका थिए, यद्यपि केहीले विपक्ष पनि जनाए।
- कोशीका घनश्याम खतिवडाले उपाध्यक्ष पौडेलद्वारा पेश गरिएको संशोधन प्रस्तावको स्वागत गरिएको बताए।
- मधेसका चन्द्रेश्वर मण्डलले वर्तमान नेतृत्वमाथि विश्वास जनाउँदै, आगामी महाधिवेशनमा ओलीलाई नै नेतृत्व दिनुपर्ने बताए।
महाधिवेशनको अन्तिम चरणमा समूहगत छलफलका सुझावहरू सुनेपछि नेतृत्वले जवाफ दिएको थियो। त्यसपछि कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको हो।




