खुटिया नदीमा नुहाउन गएका चार किशोरको मृत्यु

धनगढी/ कैलालीको गोदावरी नगरपालिका–९ मा रहेको खुटिया नदीमा नुहाउन गएका चार किशोरको विहीबार ज्यान गएको छ । उनीहरु धनगढीबाट नुहाउन गएका गएका थिए ।
धनगढी उपमहानगरपालिका–५ का १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय प्रतीक चौधरी, र उपमहानगरपालिका–४ का १७ वर्षीय जाबेज भण्डारी तथा उनका भाइ १५ वर्षीय जेब भण्डारीको नदीमा डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा उनीहरू नदीको गहिरो भागमा फसेर मृत्यु भएको हो । दिउँसो करिब २ बजेतिर प्रहरीलाई खबर दिइएपछि उनीहरुको शव फेला पारिएको थियो । सशस्त्र प्रहरीको गोताखोर टोलीले किशोरहरूको शव निकालेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलको नदी किनारमा तटबन्ध गरिएको भए पनि त्यो भाग निकै गहिरो छ । नुहाउन सात जना गएका थिए बाँकी तीन किशोर भने सकुशल फर्किएका छन्।
मृतकका आफन्तहरूको रुवाबासीले घटनास्थल स्तब्ध बनाएको थियो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टसहित सुरक्षा निकायका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।




