१९ मंसिर २०८२, शुक्रबार

लिपुलेक सम्झौतामा दार्चुलाका कांग्रेस एमालेको आपत्ति




दार्चुला/ दार्चुला जिल्लामा पर्ने लिपुलेक सम्झौतको सो जिल्लाका सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले विरोध गरेका छन् ।


लिपुलेक–कालापानी बारे भारत र चीनबीच भएको भनिएको व्यापार सम्झौता प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै दुई दलले विज्ञप्ती निकालेर कडा आपत्ति जनाएका हुन ।


एमालेको भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले सो घट्नामा गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ती जनाएको हो, भने काङ्ग्रेसको भदौ ६ र ७ गते बसेको कार्यसमितिको बैठकले पनि ध्यानाकर्षण भएको जनाउदै विरोध गर्ने निर्णय गरेको छ ।


नेपालको अतिक्रमित भूमि प्रयोग गरेर व्यापार सम्झौता गर्न मिल्दैन एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जारी गरेको विज्ञप्तिमा भनिएको छ नेपालको सार्वभौमिकता र स्वाभीमानमाथि आघात पु¥याउने गतिविधि अस्वीकार्य हुँदैन । नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन, यो नेपालको सार्वभौम अधिकार माथिको हस्तक्षेप हो विज्ञप्तिमा भनिएको छ ।


सरकारलाई तत्कालै कूटनीतिक पहल गर्न र नेपाल–भू–अधिकारको सङ्रक्षणका लागि ठोस कदम चाल्न एमालेले विज्ञप्ती मार्फत माग गरेको छ ।


यो घटनालाई सामान्य रुपमा लिन नहुने भन्दै भारत–चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा यसले नकारात्मक असर पार्ने चेतावनी समेत एमालेले दिएको छ ।


नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा–विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभीमानको रक्षा गर्न एकजुट हुन समेत एमालेले विज्ञप्तीमा मार्फत आह्वान गरेको छ ।


सुगौली सन्धी लगायतका उपलब्ध दस्तावेज र प्रमाणहरुको आधारमा नेपालको सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका संसद्ले सर्वसम्मत पारित गरेर जारी भएको नेपालको नक्सा भित्र पर्ने भूगोल कालापानी, लिपुलेक, लिम्पीयाधुरा क्षेत्रस्थित लिपुलेक भन्ज्याङको बटो भएर छिमेकी राष्ट्र चीन र भारत बीच नेपालको सहमति र सङ्लग्नता बेगर व्यापार मार्ग सञ्चालनमा ल्याउने भएको द्विपक्षीय समझदारीप्रति गम्भीर ध्यानाकर्षण भएको छ नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सभापति ललितसिंह बोहराले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।


कांग्रेसले विज्ञप्तीमा नेपालको अखण्ड क्षेत्रमा दुवै छिमेकी राष्ट्रहरुले नेपालको सार्वभौमसत्ता प्रति उपेक्षा गर्दै गरेको समझदारीमाथि कडा शब्दमा विरोध र विमति जाहेर गर्दछ भनेको छ ।


समस्या समाधानका सम्बन्धमा दुवै छिमेकी राष्ट्रहरु सित यथासिघ्र प्रभावकारी कुटनीतिक पहलका निमित्त काङ्ग्रेस सरकार समक्ष अनुरोध गर्दछ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार