एमाले गौमुलको आयोजनामा लघु प्रशिक्षण कार्यक्रम

बाजुरा/ एमाले, गौमुल गाउँ कमिटी, बाजुराको आयोजनामा साउन २५ गते पालिकाको केन्द्र घट्मुनामा एक दिने लघु प्रशिक्षण कार्यक्रम भएको छ ।
प्रशिक्षण कार्यक्रममा पालिका कमिटीका पदाधिकारीहरु र सदस्यहरु, वडा कमिटीका पदाधिकारीहरु, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, जनसङ्गठनका प्रमुखहरु समेत २१ जना महिला समेत ६८ जनाको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा पालिकाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरु तथा वडा इन्चार्जहरु सात जना महिला समेत ३३ जना आमन्त्रित सहभागी रहेका थिए । कार्यक्रमका २८महिला सहित १०१ जनाले प्रशिक्षणमा भाग लिएका थिए । गाउँ कमिटीको बैठक समेत भएको सो कार्यक्रम गाउँ कमिटी अध्यक्ष मोहनबहादुर रोकायाको अध्यक्षतामा भएको थियो । गाउँ कमिटीका सचिव धनबहादुर बोहराले कार्यक्रम संचालन गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रिय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज लालबहादुर थापाले पार्टीको अन्तर पार्टी निर्देशनको महत्व र आगामी दोस्रो महाधिवेशनमा पेश गर्न केन्द्रिय कमिटीले तयार गरेर छलफलका लागि प्रदेश र स्थानीय कमिटीमा पठाएको विधान संशोधनको मस्यौदा, पार्टी सदस्यताको महत्व, सदस्यता प्रदान गर्ने प्रक्रिया, सदस्यता नवीकरणको वैधानिक व्यवस्था बारे सहजीकरण गरेका थिए ।
केन्द्रिय कमिटी सदस्य सहदेव बोगटीले पार्टी केन्द्रिय कमिटीको निर्देशनको महत्व र यिनको कार्यान्वयन, आगामी दोस्रो महाधिवेशनमा पेश गरिने विधान संशोधन मस्यौदाका प्रमुख विशेषताहरु बारे प्रशिक्षणमा सहजीकरण गरेका थिए । पार्टी जिल्ला कमिटीका अध्यक्ष लालबहादुर ओलीले पार्टी कमिटीका बैठकको महत्व, बैठक संचालन प्रक्रिया, बैठकका निर्णय प्रक्रिया र परम्परागत र आधुनिक निर्णय लेखनको नमुना, बैठकका निर्णयको कार्यान्वयन बारे सहजीकरण गरेका थिए ।
जिल्ला कमिटी उप–सचिव हरिबहादुर रोकायाले जनसरोकारका सवाल पहिचान र समाधानका उपाय बारे सहजीरकरण गरेका थिए । पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तुलसीराम रोकायाले पार्टी र जनप्रतिनिधिको अन्तरसम्बन्ध बारे सहजीकरण गरेका थिए ।
एमाले बाजुराको सातौं पूर्ण बैठक २०८२ साउत १६ को निर्णय अनुसार पालिका र वडा कमिटीहरुका कार्यमुलक विषयमा पहिलो चरणमा पालिकास्तरीय लघु प्रशिक्षण र तत्पश्चात वडास्तरीय लघुप्रशिक्षण संचालन गर्ने कार्ययोजना तयार गरेको छ ।
जिल्ला स्तरको तीन दिने प्रशिक्षक प्रशिक्षण २०८१ असोज १२–१४ पश्चात जिल्लामा पालिकास्तरको लघु प्रशिक्षण संचालन गरेको यो दोस्रो पटक हो । पार्टीका पालिका इन्चार्जहरु, वडा इन्चार्जहरु, पालिका कमिटीका पदाधिकारीहरु र सदस्यहरु एवम् वडा कमिटीका पदाधिकारीहरुको क्षमता विकासलाई मध्येनजर गरेर यी प्रशिक्षण संचालन गरिएका हुन् ।
यी प्रशिक्षणबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यसम्पादनलाई समेत मध्येनजर गर्दै पार्टी सदस्यहरुको क्षमता र सीप विकास गर्ने लक्ष्य रहेको छ ।




