१९ मंसिर २०८२, शुक्रबार

चार दिनपछि बडिमालिका क्षेत्रबाट शव उठाइयो



बाजुरा / बाजुराको बडिमालिका माताको दर्शन गरेर फर्किने क्रममा भीरबाट लडेर ज्यान गुमाएका दुई तीर्थयात्रीको शव चार दिनपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको छ । उनीहरुको शव पोष्ट मार्टमपछि आफन्तलाई बुझाउने भएको छ ।

साउन २२ गते काठमाडौको गोकर्णेश्वर नगरपालिका–५ निवासी ५२ वर्षीय विप्लव ओझा र २३ गते बर्दिया जिल्लाको ठाकुरबाबा–४ निवासी ७५ वर्षीय डिल्लीराज घोडासैनीको फरक फरक समयमा भीरबाट लडेर मृत्यु भएको थियो।

बडिमालिका मन्दिरबाट झन्डै एक घण्टाको पैदल दूरीमा दुबै जना फरक फरक समयमा भीरबाट खसेका थिए । मौसम प्रतिकूल भएकाले नेपाली सेनाको हेलिकप्टरले शव तत्कालै उठाउन सकेको थिएन ।

प्रहरीका अनुसार शवहरू करिब आधा दिनको पैदल यात्रामा बोकेर नाटेश्वरी मन्दिर क्षेत्रसम्म ल्याइएपछि आइतबार हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीले बताए । उनका अनुसार सूचना अधिकारी देवबहादुर चौधरीको नेतृत्वमा २६ जनाको सुरक्षा टोलीले शवहरू नाटेश्वरीसम्म पुर्‍याएको थियो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार