हेलिकप्टर अवतरण हुन नक्सदा बडीमालिकामा ज्यान गुमाएका तीर्थयात्रीका शव अझै उठेनन्

बाजुरा / बाजुराको बडीमालिकामा तीर्थयात्राका क्रममा भीरबाट लडेका दुई तीर्थयात्रीका शव अझै आफन्तलाई दिन सकिएको छैन । कठिन भू–भौगोलिक अवस्था र खराब मौसमका कारण हेलिकप्टर अवतरण सम्भव नभएपछि मृतकका आफन्तले शव पाउन सकेका छैनन्।
साउन २२ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझा र साउन २३ गते बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी बडीमालिका मन्दिर दर्शन गरेर फर्किने क्रममा भीरबाट लडेर ज्यान गुमाएका थिए। मन्दिर क्षेत्रबाट झन्डै एक घण्टाको पैदल दूरीमा रहेको स्थानमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार, “भौगोलिक रुपमा अत्यन्त कठिन भीर क्षेत्र भएकाले शवलाई उठाएर बाटोसम्म ल्याउन निकै कठिन भएको थियो। हाल दुबै शवलाई बाटोसम्म ल्याइएको छ तर हेलिकप्टर अवतरण नहुनु मुख्य समस्या बनेको छ।”
सूचना अधिकारी देवबहादुर चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोली चार दिनदेखि घटनास्थलमा खटिएको छ। प्रारम्भमा ११ जना प्रहरी मात्र रहेको टोलीमा थप जनशक्ति थपिएसँगै अहिले २६ जनाको टोली परिचालन गरिएको छ।
शवलाई हेलिकप्टरमार्फत सुर्खेत लगेर पोस्टमार्टम गर्ने र त्यसपछि ओझाको शव काठमाडौं तथा घोडासैनीको शव बर्दिया लैजाने तयारी प्रहरीले गरेको छ। मृतकका आफन्तहरू बाजुरा पुगिसकेका छन् ।
हरेक वर्ष बडीमालिका दर्शनका क्रममा हजारौं श्रद्धालु कठोर र जोखिमपूर्ण यात्रा तय गर्छन्।




