सञ्चार क्षेत्रको विकासका लागि मुलुकमा राजनीति स्थायित्व जरुरी–एमाले नेता भट्ट

महेन्द्रनगर/ नेकपा (एमाले) का सुदूरपश्चिम इन्चार्ज एवम् केन्द्रीय सचिव लेखराज भट्टले सञ्चार क्षेत्रको चौतर्फी विकासका लागि मुलुकमा राजनीति स्थायित्व कायम हुनु जरुरी रहेको बताएका छन् ।
शुक्रवार प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा महेन्द्रनगरमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकको उद्घाटन कार्यक्रममा बोल्दै नेता भट्टले सञ्चार क्षेत्रको चौतर्फी विकासका लागि मुलुकमा राजनीति स्थायित्व कायम हुनुपर्ने बताए ।
समृद्धिका लागि सञ्चार कर्मले पूर्णता पाउन राजनीतिक स्थायित्व कायम हुनुपर्ने उनले बताए । साथै, सङ्गठनात्मक अराजकवाद चिर्नुपर्ने बताउनुहुँदै नेता भट्टले पार्टीमा लागेपछि पार्टीको नीति भन्दा दायाँबायाँ गर्न नहुनेमा जोड दिए ।
एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले पत्रकारहरूले बदलाको भावनाले नभई वास्तविक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्नुहुँदै नेकपा एमालेका केन्द्रीय सदस्य निरुदेवी पालले सञ्चारकर्मीको हक अधिकार र सुरक्षाको लागि पार्टीले अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिइन ।
कार्यक्रमका बोल्नुहुँदै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले आधुनिक समय परिवेश अनुरूप पत्रकारिता क्षेत्र अगाडि बढ्नुपर्नेमा जोड दिए ।
बदलिँदो परिस्थितिमा सञ्चार क्षेत्रले थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको उनले बताए । “कुनै बेला साप्ताहिक पत्रिका पढेर धारणा बनाउने गरिन्थ्यो उनले भने– बदलिँदो प्रविधिको कारणले पत्रकारहरूले थुप्रै चुनौतीहरूको सामना गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ ।”
चुनौतीबाट थिचिएको पत्रकारिताले लिने अबको बाटो के हुने भन्ने अहिले विश्वव्यापी बहसको विषय बनेको केन्द्रीय अध्यक्ष पाण्डेले बताए । नयाँ प्रविधिको विकास सङ्गै चौतारीकर्मी हरूलाई प्रविधि सङ्गै अगाडि बढ्न प्रेस चौतारीले यो वर्षलाई प्रशिक्षण वर्षका रूपमा मनाइरहेको उनले बताए ।
सुदूरपश्चिमका पहाडी जिल्लामा मिडिया सञ्चालन गर्नु जटिल विषय रहेकाले एफएमको कुन अवस्थामा रहेको छ, पार्टीले सम्बोधन गर्नुपर्ने उनले बताए । साथै पत्रकारितामा नयाँ पुस्ताको आकर्षण घटेकाले प्रेस चौतारीले नयाँ पुस्तालाई व्यवसायी पत्रकारितामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनलेले प्रतिबद्धता जनाए ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिमका अध्यक्ष नरेन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा लगायतले प्र्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाका चौतारीकर्मीहरूको सहभागिता रहेको थियो ।




