सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष: “राजनीतिक र शासकीय रूपमा सफल” – मुख्यमन्त्री शाह

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिहरू सार्वजनिक गर्दै सरकारको प्रदर्शन सन्तोषजनक रहेको दाबी गरेको छ। मङ्गलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको एक वर्षे प्रगतिपत्र सार्वजनिक गर्दै राजनीतिक स्थायित्व, नीतिगत सुधार र भौतिक पूर्वाधार विकासमा सरकार सफल रहेको घोषणा गरे।
मुख्यमन्त्री शाहका अनुसार प्रदेश सरकारले एक वर्षको अवधिमा १८ वटा ऐन, नियमावली, निर्देशिका र कार्यविधि जारी गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गरिएको छ।
कानुनी र वित्तीय प्रगति
- एक वर्षको अवधिमा १८ वटा ऐन, नियम, निर्देशिका तथा कार्यविधि जारी
- आर्थिक वर्ष २०८१/८२ मा ७०.२२% बजेट खर्च
पूर्वाधारमा ठोस प्रगति
- कुल ३५५ किलोमिटर सडक निर्माण (१०६ किमी कालोपत्रे, १०३ किमी ग्राभेल, १४६ किमी कच्ची)
- १३,९४७ हेक्टर जमिनमा सिंचाइ सुविधा पुनःस्थापना
- २७ किलोमिटर तटबन्ध निर्माण र नदी कटानबाट २७ हेक्टर जमिन प्राप्त
खानेपानी र स्वास्थ्य
- १ लाख ३ हजार ५२४ जनसंख्यामा खानेपानी सुविधा विस्तार
- खानेपानीमा १३ अर्ब ३८ करोडको लागत साझेदारी आयोजना अघि बढाइयो
- बयलपाटा, लम्कीचुहा र जोगबुढा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया अघि बढ्दै
कृषि, धार्मिक सम्पदा र संरक्षण
- १,५४७ साना सिंचाइ आयोजना सम्पन्न
- ३७८ हेक्टर जमिनमा सिंचाइ सुविधा थप
- ३१ स्थानमा मठ/मन्दिर निर्माण, ९ वटा ताल/झरना संरक्षण
- ४ ठाउँमा सङ्ग्रहालय निर्माण
भौतिक पूर्वाधार र कृषि क्षेत्रमा उल्लेखनीय प्रगति
एक वर्षको अवधिमा सरकारले ३५५ किलोमिटर सडक निर्माण गरेको जनाएको छ। जसमा १०६ किमी कालोपत्रे, १०३ किमी ग्राभेल र १४६ किमी कच्ची सडक निर्माण समावेश छ। त्यसैगरी, १३ हजार ९४७ हेक्टर जमिनमा सिँचाइ सुविधा पुनः स्थापना गरिएको र ३७८ हेक्टर जमिनमा नयाँ सिँचाइ सुविधा थपिएको उल्लेख छ।
खेतीयोग्य जमिन जोगाउन २७ किलोमिटर तटबन्ध निर्माण र नदी उकासबाट २७ हेक्टर जमिन प्राप्त भएको छ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग र उत्पादकत्व अभिवृद्धिका कार्यक्रमहरू सञ्चालनमा रहेको जनाइएको छ।
स्वास्थ्य, खानेपानी र सामाजिक क्षेत्रको सुधार
अछामको बयलपाटा, कैलालीको लम्कीचुहा र डडेल्धुराको जोगबुढा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न प्रक्रिया अघि बढाइएको छ। खानेपानी सुविधामा १ लाख ३ हजार ५२४ जनसंख्यालाई नयाँ सेवा विस्तार गरिएको छ। साथै, नेपाल सरकारको खानेपानी मन्त्रालयसँगको साझेदारीमा १३ अर्ब ३८ करोडको खानेपानी आयोजना चार पालिकामा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
सांस्कृतिक संरक्षण र पर्यटन पूर्वाधार
प्रदेश सरकारले ३१ वटा धार्मिक मठ–मन्दिर निर्माण, ९ वटा ताल र झरना संरक्षण तथा चार स्थानमा सङ्ग्रहालय निर्माण गरेको उल्लेख छ।
सुशासन र प्रशासनिक सुधारमा जोड
मुख्यमन्त्री शाहले सरकारको नीति दिगो सुशासन, विकास र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता रहेको भन्दै सरकार स्थानीय तहसम्म वित्तीय हस्तान्तरणलाई व्यवस्थित बनाउन क्रियाशील रहेको बताए। उनले विगतका कमजोरी सुधार गर्दै नीतिगत, संरचनागत र कार्यान्वयनगत सुधारमा सरकार गम्भीर रूपमा लागेको उल्लेख गरे।
मुख्यमन्त्री शाहले भने, “प्रदेश सरकारले समग्र शासकीय गुणस्तर अभिवृद्धि गर्दै जनताको विश्वास जित्ने खालका कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।”




