उन्मुक्तीका कैलाशसले पनि दिए, मुख्यमन्त्रीलाई विश्वासको मत

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार बसेको प्रदेश सभा बैठकमा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव पक्षमा ३० सांसदले मतदान गरे।
नेपाली कांग्रेसका १८, नेकपा ९एमाले० का ११ र नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले शाहलाई समर्थन जनाए । उन्मुक्ति पार्टीका अन्य ६ सांसद अनुपस्थित थिए । ५३ सदस्यीय प्रदेश सभामा बहुमतको लागि कम्तीमा २७ मत आवश्यक पर्छ।
अर्कोतर्फ, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) , राप्रपा र स्वतन्त्र सांसदसहित १५ जनाले विरोधमा मतदान गरे । ६ जना अनुपस्थित रहे भने एक सांसद निलम्बित छन्।
मुख्यमन्त्री शाहले केही दिनअघि नागरिक उन्मुक्तिका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि सो पार्टीले समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तापछि शाहले कार्यकालमै तेस्रोपटक विश्वासको मत लिएका हुन्।
सभामुख भीमबहादुर भण्डारीले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।
यसअघि शाहले साउन ३० गते दोस्रोपटक र २०७९ फागुन २१ गते पहिलोपटक विश्वासको मत प्राप्त गरेका थिए। पहिलोपटक उनलाई कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन थियो।
शाहले सभामा सरकारको एक वर्षे कामको समीक्षा गर्दै संघीयता र प्रदेश व्यवस्थाप्रति जनविश्वास बढाउने प्रयास भइरहेको बताए। स्थानीय सेवा ऐनको समस्यालाई नियमावलीमार्फत समाधान गरिने, राजस्व वृद्धि र नागरिकको विपत् बिमा सुरु गरिने जानकारी समेत दिए।




