तीनको मृत्यु, १६ घाइते, सात जनालाई हेलिकोप्टरबाट सुर्खेत लगियो

तस्बिर : नेपाली सेना
कोल्टी / बाजुराको हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीवार बिहान सो पालिकाको वडा नम्बर ५ किउडीबाट धुलाचौर आउँदै गरेको जीप दुर्घटनामा परेको हो ।
दुर्घट्नामा परेर मृत्यु हुनेमा हिमाली गाउपालिका – ५ की अन्दाजी ६० वर्षीया बाचा रोकाया, अन्दाजी ६५ वर्षकी विजौरा रोकाया र अन्दाजी ३५ वर्षकी जुनेली रोकाया रहेका छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप दुर्घटनामा परेर गम्भिर घाइते भएका सात जनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको हो ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी शितल रावलले घाइतेहरुलाई एकैपटक सम्भव नभएरपछि दुई पटक गरेर सात जनाको उद्धार गरिएको बताएका छन् ।
उनका अनुसार गम्भीर घाइते सात जनालाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ । जसमा घाइते चालक गौरी बुढा, बाजधन रोकाया, राम बहादुर बुढथापा र सुरेन्द्र शाहीलाई पहिलो पटक उद्धार गरिएको थियो । त्यस्तै तीन जनालाई दोस्रो पटक हेलिकप्टरमार्फत पठाइएको छ । उनीहरुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै अन्य घाइते ९ जनालाई हिमाली गाउँपालिकाको एम्वुलेन्सबाट ल्याएर कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हिमाली गाउँपालिका २ बस्ने अन्दाजी २२ वर्षका गौरी बुढाले चलाएको बा प्र.०३००१ ज ०३३८ नम्बरको जीप कच्ची साघुँरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडा आउन लागेका उनीहरु जीप दुर्घटनामा परेका हुन् ।





