रावलले भने– पुस्तान्तरण, हस्तान्तरण र रुपान्तरणमा ध्यान दिऔं

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा मंगलबार भाग लिँदै केन्द्रीय सदस्य झपट रावलले पुस्तान्तरण, हस्तान्तरण र रुपान्तरणमा जोड दिए मात्र पार्टी बलियो हुने बताएका छन् ।
उनले पार्टी बलियो बनाउनका लागि १८ ४०, ४० ६० र ६० देखिमाथिको उमेर समूह बनाएर हरेक कमिटीमा जिम्मेवारी सुनिश्चितता गर्नु पर्ने पनि बताए ।
केन्द्रीय सदस्य रावलले जिल्ला कमिटीलाई समन्वयकारी बनाउनु पर्ने र राज्यले चुनाव गर्ने प्रतिनिधि सभा, प्रदेश सभा, पालिका र वडा कमिटी कार्यकारीलाई कार्यकारी बनाउनु पर्ने धारणा पनि राखे ।
रावलले बहुमतीय सरकार गठनका नाममा बारम्बार देखिएको अस्थिरता अन्त्य गर्न ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को मोडल संविधानमै समेट्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले प्रदेश सरकारहरूबारे ‘पैसा झोलामा लिएर आऊ, योजना बोरामा लिएर जाऊ’ भनेर बदनाम भइरहेको बाए । यसले गर्दा प्रदेशको बदनाम भएको उल्लेख गर्दै उनले प्रदेश सभाको संरचना र खर्च प्रणाली गम्भीर रूपमा पुनरवलोकन गर्न माग गरे ।
‘प्रदेशहरू बिचौलिया र भ्रष्टाचारको अखडा बन्न थालेस समीक्षा नगरे यो संरचनाको कुनै अर्थ हुँदैन,’ उनले थपे ।
रावलले केन्द्रीय सरकारकै कतिपय मन्त्रीहरूको आचरणले पार्टीको छवि धुमिल भएको आरोप लगाए । ‘पार्टी बदनाम भइसक्यो, तर नेतृत्वले उचित निर्णय लिन ढिला गरिरहेको छ,’ उनले चेतावनी दिँदै भने ।




