१९ मंसिर २०८२, शुक्रबार

लगानी खोज्ने र लगानी मैत्री वातावरण बनाउने प्रतिवद्धता




धनगढी/ सुदूरपश्चिममा लगानी जुटाउन र लगानीमैत्री वातावरण बनाउन नेपाल सरकारका मन्त्रीदेखि विभिन्न देशका कूटनीतिज्ञ र दातृ निकायले प्रतिवद्धता गरेका छन् ।

सुदूरपश्चिममा लगानी भित्राउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते धनगढीमा आयोजना गर्ने ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलन’ को बुधबार धनगढीमा उद्घाटनका कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो ।

तयारी सम्मेलनको उद्घाट्न गर्दे परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नीजि क्षेत्रलाई समेटेर सुदूरपश्चिमको पर्यटन, पूर्वाधार, जलविद्युतलगायतका क्षेत्रको विकासको खाका तयार गर्नका लागि योगदान पुगाउने बचन दिइन ।

उनले अहिलेको युग सरकारले आफै विकास गर्ने समय होइन भन्ने आसय व्यक्त गर्दे कस्तो विकास गर्ने ,कसरी विकास गर्ने भन्ने छलफल समेत नीजि क्षेत्रसंग गरेर अगाडि बढ्नु पर्ने पनि बताइन ।

पहाडमा विकास भएको छ तर मान्छे पहाडमा बस्न छोडेका छन् त्यो कुरालाई समेत ध्यान अब एकीकृत विकास गर्नुपर्छ भन्नेमा पनि उनले जोड दिइन ।

सुदूरपश्चिम प्रदेश सरकारले रोजगारी पनि बढ्ने, राजश्व पनि संकलन हुने अपेक्षा सहित बेतन कर्णाली जल विद्युत आयोजना आफै सञ्चालन गर्ने आकांक्षा राखेको चर्चा गर्दे परराष्ट्रमन्त्री डा. राणाले त्यो विषयमा सङ्घीय सरकारले छलफल गर्ने आसय पनि व्यक्त गरिन ।

उनले सुदूरपश्चिमको विकासका सम्भावना बारे चर्चा भएका विषयमा खेलकुद क्षेत्र छुटेको समेत बताइन । उनले भनिन, त्यसका लागि भारतको समेत सहयोगमा धनगढीको फाप्ला क्रिकेट मैदान बनाउदैछौ , यसमा प्रदेश सरकारको समेत उल्लेख्य सहयोग छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीनै तहका सरकारको साझा प्रयासमा आन्तरिक र वाह्य लगानी खोजेर विकासका आकांक्षा पुरा गर्न नेपाल सरकार लागि परेको पनि बताए ।

उनले सुदूरपश्चिममा सम्भावनाका ढोका धेरै छन् लगानी सम्मेलनले ती ढोका खुल्ने विश्वास पनि व्यक्त गरे ।

उनले लगानीको वातावरण बनाउन प्रक्रियागत जटिलता सरलीकृत गरिने पनि प्रतिवद्धता समेत गरे । सुदूरपश्चिममा पश्चिम सेती वेतन कर्णाली, अपर कर्णालीमा लगानी आवश्यक छ पञ्चेश्वर बन्ने भनेको पनि ३० वर्ष भएको छ, भारतले पञ्चेश्वर कार्यान्वयनमा ल्याउनुपर्छ उनले भने ।

मन्त्री भण्डारीले उत्पादन, उद्यमशिलता विकासमा ध्यान दिन जरुरी रहेको बताउदै छिमेकीमुलुकबाट फाइदा लिन सक्नु पर्ने धारणा राखे । उनले महाकाली लोकमार्ग बनिरहेको चर्चा गर्दे त्यसपछि नेपाल, चीन र भारतको त्रिदेशिय नाका सञ्चालनमा सहज हुने बताए ।

सो अवसरमा बोल्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले खप्तड, शुक्लाफाटा, रामारोशन, बडीमालिका संरक्षण क्षेत्रमा सहकार्य गरेर पर्यापर्यटन सञ्चालन गरेर फाइदा लिनु पर्ने धारणा राखे ।

वन क्षेत्रको दीगो विकासमा समेत लगानी सम्मेलनले मद्धत गर्ने बताउदै उनले विकासका लागि कतिपय वन क्षेत्र उपयोग गर्न पनि आफूले सहज वातावरण बनाएको दावी गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । उनले लगानी तथा विकास सम्मेलन सुदूरपश्चिमको विकासका लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न उद्योगी, पर्यटन व्यवसायीहरु, कूटनीतिक नियोगका उच्च पदस्थ अधिकारी, अन्तर्राष्ट्रिय दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार