जातीय छुवाछुत सामुहिकढंगले निर्मुल गर्नुपर्छ : कानुनमन्त्री सार्की

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकास र रुपान्तरणको बाधक नै जातीय भेदभाव र छुवाछुत भएकोले यसलाई सामुहिक ढंगले निर्मुल पार्नु पर्ने बताएका छन् ।
सो कुरा उनले आज १९ औ जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा धनगढीमा आयोजित प्रभातफेरी कार्यक्रमको समापन सत्रमा बताएका हुन ।
मन्त्री सार्कीले सुदूरपश्चिम प्रदेश सरकार कसैलाई पछाडि नछाड भन्ने संकल्पका साथ दीगो विकास लक्ष्य २०३० का लक्ष्यहरुसंग दलित समस्याहरुको एकिकृत समाधान हुनुपर्दछ भन्ने मान्यताका राखेको बताए

संविधानसभा सदस्य अफिलाल ओखेडाले नेपालको लोकतान्त्रिक गणतान्त्रिक संबिधान २०७२ ले जातीय, लैंगिक, वर्गिय र क्षेत्रीय विभेदलाई अन्त्य गरेकोले त्यसलाई संस्थागत गर्नका लागि राज्य नै जिम्मेवार हुनुपर्ने कुरामा जोड दिए ।
कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले अझै पनि सामाजिक कलंक रुपमा रहेको जातीय भेदभाव र छुवाछुतलाई अन्त्य गर्नका लागि निरन्तर अभियान सञ्चालन गरिनुपर्ने कुरामा जोड दिए । उनले जातीय भेदभाव र छुवाछुत बिरुद्ध निर्माण भएका कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताए।
कार्यक्रमको सहजीकरण गर्दै राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम सार्कीले दलित अधिकार दशकलाई सफल बनाउन जेठ १० देखि २१ गतेसम्मको अवधीमा विभिन्न कार्यक्रम आयोजना गरेर १२ दिने दलित अधिकार अभियानका रुपमा मनाइएको बताए।
उनले जेठ १० गते जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय ऐन) २०६८ संसदबाट पारित भएको दिन, जेठ १५ गते संघीय संसदमा बजेट आउने दिन, जेष्ठ १६ गते महिला अधिकार दिवस, जेष्ठ १८ गते छुवाछूत बिरोधी ऐनमा लालमोहर लागेको दिन र जेष्ठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिन अर्थात दलित अधिकार दिवस भएकोले यी सबै दिनहरुलाई सम्झेर १२ दिने दलित अधिकार अभियानको सान्दर्भिकता रहेको चर्चा गरे ।
जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजना र दलित अधिकारको क्षेत्रमा क्रियाशिल राष्ट्रिय दलित नेटवर्क, नेपाल, दलित महिला संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित गैरसरकारी संस्था महासंघ, मानव अधिकार संरक्षण मञ्चसंगको समन्वयमा जातीय भेदभाव र छुवाछूतको अन्त्य गरौ, सामाजिक न्याय सहितको मानव मर्यादा कायम गरौ भन्ने मुल नाराका साथ १९ औ जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा धनगढीको चौराहाबाट प्रभातफेरी शुरु भई पार्कमोडमा कोणसभामा परिणत भएको थियो ।
सो अवसरमा प्रदेशका प्रहरी प्रमुख डम्बरबहादुर बिश्वकर्मा, सामाजिक विकास कार्यालयका प्रमुख कुलराज सोती लगायतले मन्तब्य ब्यक्त गरे । कार्यक्रममा दलित महिला संघ सुदूरपश्चिम समितिका अध्यक्ष अम्विका ताम्राकारले स्वागत गरेकी थिइन।




