उन्मुक्तीका दोस्रो पटक मन्त्री बने रामेश्वर

धनगढी/ नागरिक उन्मुक्ती पार्टीबाट रामेश्वर चौधरी दोस्रो पटक सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन् ।
उनले आइतबार साँझ पद तथा गोपनियताको सपथ लिएका छन् ।
उनले प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमका बीच प्रदेश प्रमुख नजिर मियाँसंग पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।
सो अवसरमा मुख्यमन्त्री कमलबहादुर शाह लगायतको समेत उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केही दिन पहिले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएकी थिइन । संसदीय दलको बैठकले भने अध्यक्षको निर्देशनविपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
शनिबार बसेको अर्को बैठकले विवादबीच नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई मन्त्री पद्को शपथ ग्रहण गराउन सिफारिस गरेको थियो ।
सात प्रदेश सभा सदस्यमध्ये चार जनाको उपस्थितिमा बहुमतको आधारमा चौधरीको नाम टुङ्गो लगाइएको हो । कैलाश मन्त्री बन्नबाट पछाडि हटेपछि रामेश्वर चौधरीलाई अगाडि सारिएको थियो ।
कैलाली क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभामा निर्वाचित चौधरी यसअघि कमलबहादुर शाह नेतृत्वकै पहिलो कार्यकालमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए ।
विवादास्पद अडियो सामग्री सार्वजनिक भएपछि सो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेका लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका थिए ।
त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सो पार्टीका सात जना प्रदेश सभा सदस्य रहेका छन् । मन्त्री चौधरी २०७९ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ को ख क्षेत्रबाट निर्वाचित हुनु भएका थिए ।




