सुदूरपश्चिम विकासको गति अघि बढ्यो : महासचिव पोख्रेल

धनगढी/ नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले गेटा मेडिकल कलेज सञ्चालनको तयारी अन्तिम चरणमा रहेको उल्लेख गरेका छन् । उनले मेडिकल कलेज सञ्चालनमा आउदा सुदूपश्चिममा विकासको गति अझ अघि बढ्ने बताए ।
कैलालीको धनगढीमा एमालेको केन्द्रीय कमिटीको आह्वानमा प्रदेश समितिले आयोजना गरेको विशेष जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशमा संकट आएको बेला विगतमा एमाले,काग्रेस एक भएको उल्लेख गर्दै गणतन्त्र जोगाउन दुई पार्टीको मुख्य जिम्मेवारी भएको उल्लेख गरे ।
उनले काठमाडौंको तीनकुनेमा आतंक मच्चाउने योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको बताउदै ‘पूर्वराजा ज्ञानेन्द्र शाहले जनकमान्डर बनाएका, समाजमा आतंक सिर्जना गर्न, उत्पात मच्चाउन र लुटपाट गर्न योजना बनाउने योजनाकारलाई भारतमा लुकेको अवस्थामा प्रहरीले खोजतलास गरेर ल्याएको उल्लेख गरे ।
महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको पनि बताए ।
पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने उल्लेख गर्दे महासचिव पोखरेलले भने पञ्चायतको समयमा गरिबीको खाडल २३ गुणा बढी थियो, अहिले ८ गुणामा झरेको छ, समानतातर्फको यात्रा यो समाजमा अगाडि बढेको छ ।
विशेष सभालाई पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, सचिव लेखराज भट्ट, स्थायी कमिटी कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य नादरमुनी राना, निरुदेवी पाल, शान्ता चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

