यो सरकार चल्नुपर्छ, असफल हुने छुट छैन् नेता कोइराला
धनगढी/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन कैलालीले आज विहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने राजनीतिक स्थायित्वका लागि दुई ठुला दल मिलेर सरकार बनेको हो । उनले जोड दिदै भने “सरकार असफल भयो भने देशमा अराजकता निम्तिन्छ । कुनै पनि हालतमा यो सरकार चल्नु पर्दछ ।”
जे म्यान्डेट लिएर यो सरकार गठन भएको हो, त्यो जसरी भए पनि पूरा गर्नै पर्ने नेता कोइरालाको भनाइ थियो । उनले संविधान सुधारतर्फ सरकारले ध्यान दिन नसकिरहेको बताए ।
नेता कोइरालाले भने “यो सरकार गठनको मूलभूत एजेण्डा संविधान संशोधन गर्ने थियो”, “तर संविधान सुधारतर्फ सरकारको ध्यान गएको देखिदैन । नेपाली कांग्रेस र नेकपा (एमाले) ले मात्र चाहेर संविधान संशोधन हुँदैन । यसका लागि अन्य दलहरुसँग छलफल गर्नु पर्दछ । त्यस्तो छलफल भएको देखिदैन ।”
उनले मुलुकमा राजनीतिक, आर्थिक, साँस्कृतिक अवस्था एकदम नाजुक रहेको भन्दै त्यसलाई नेपाली कांग्रेस र एमालेले सुधार गर्नुपर्ने बताए । नेता कोइरालाले आगामी वर्ष हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि पार्टी कार्यकर्ता जुर्मुराउन थालेको उल्लेख गरे ।
पत्रकारले सोधेको जिज्ञासाको जवाफमा उनले सभापतिको उम्मेदवार बन्नका लागि विधानमा नै सबै कुरा स्पष्ट लेखिएकाले विधानको दायराभित्र पर्ने जो पनि पार्टीको सभापतिका उम्मेदबार बन्न सक्ने बताए।
यसैगरेर, एक छुट्टै प्रसङ्गमा नेता कोइरालाले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटै सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने उल्लेख गरे । “मेडिकल कलेज चलाउँदा सुरुमा केही अप्ठयारा आउछन । किनभने, म पनि एउटा मेडिकल कलेज चलाएको मान्छे हो” उनले भने, “म यहाँ केही अप्ठ्यारा देख्दिन । यसलाई तत्कालै सञ्चालन गर्न सकिन्छ । त्यसको लागि म सक्दो पहल गर्छु ।”