७ पुष २०८१, आईतवार

शिथिल अर्थतन्त्रलाई सरकारले माथि उठाउछ : मन्त्री भण्डारी




धनगढी/
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका माध्यमबाट सरकारले लगानीको वातावरण बनाउने प्रतिवद्धता गरेका छन् । उनले भने,“आजको शिथिल अर्थतन्त्रलाई सरकारले माथि उठाउन चाहेको छ ।

धनगढीमा शनिबारबाट कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको १८ औं संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै मन्त्री भण्डारीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई यथेष्ट लगानीको वातावरण दिन समेत सरकार प्रतिवद्ध रहेको दावी गरे ।

उनले पछिल्लो पटक नेपालमा विदेशी लगानी बढेको बताउदै युवा विदेशिनेक्रम निराशामात्रै नभइ आशा पनि रहेको बताए । मन्त्री भण्डारीले भने रहरलेमात्रै नभइ सम्भावनाले पनि युवा विदेश गइरहेका छन्, हामीले निराशाको गीतमात्रै गाएर हुँदैन, आशा र सम्भावनाको पनि कुरा गर्नु पर्दछ । नेपालमा सम्भावना नभएर सबै युवा विदेशिए भन्यौं भने यो एउटा गलत भाष्य हुने छ ।

पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत आयोजना बनेमा सुदूरपश्चिमकोमात्रै नभइ मुलुककै कायापलट हुने उनले जिकिर गरे । उनले सुरुमा ७५० मेगावाटको अध्ययन भएको पश्चिम सेती जलविद्युत आयोजनालाई ८०० मेगावाटको बनाउन सकिने गरेर पछिल्लो पटक अध्ययन भएको बताए ।

पश्चिम सेती जलविद्युत आयोजनालाई बनाउनका लागि भारतीय कम्पनीसंग सम्झौता भइ विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भएको मन्त्री भण्डारीको भनाइ थियो । उनले पश्चिम सेती जलविद्युत आयोजनालाई केही समयपछि कार्यान्वयन गर्ने गरेर प्रस्ताव लगानी बोर्डबाट स्वीकृत भएको जानकारी दिए ।

यसैगरी, अछाममा माथिल्लो कर्णाली निर्माणका लागि लागत स्टिमेट स्वीकृत गरी यसलाई अगाडि बढाउने निर्णय भइसकेको उनले बताए । यी दुई ठुला आयोजनाले आर्थिक रुपमा उच्च ‘भाइब्रेन्ट’ हुने भएकाले सरकारले यी दुई परियोजनालाई अगाडि बढाएको भण्डारीको भनाइ थियो ।

मन्त्री भण्डारीले आर्थिक वृद्धिदर उच्च रहेका दुई छिमेकीबाट नेपालले लाभ लिन सक्नु पर्ने उनको जोड थियो । अहिलेको निराशालाई आशा र सम्भावनामा बदल्ने सरकारले संकल्प लिएको मन्त्रीले उल्लेख गरे । उद्यमशिलता र व्यापार वृद्धि आजको अहम विषय रहेको उनको भनाइ थियो ।

महोत्सव उद्घाटनको क्रममा सुदूरपश्चिमको विकासको सवालमा पूरा हुन बाँकी १० बुँदा माग बराबर १० किलोको फूलको माला मन्त्री भण्डारीलाई लगाइएको थियो । यसैगरी, विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

सो अवसरमा विभिन्न समुदायको कला, संस्कृति झल्किने साँस्कृति झाँकी पनि प्रस्तुत गरिएको थियो । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार