२० मंसिर २०८१, बिहीबार

बाजुरामा शान्तिपूर्ण निर्वाचनको उदाहरणीय अभ्यास




बाजुरा, जहाँ प्रायः निर्वाचन अशान्तिपूर्ण हुने धारणा थियो, यसपटकको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । विगतमा हरेक चुनाव हिंसात्मक मात्र होइन चुनावमा ज्यान गएका कैयौ घटना छन् । स्वामिकार्तिकखापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको यो निर्वाचनले लोकतान्त्रिक प्रक्रियाको परिपक्वता दर्शाइएको छ ।
सात हजार ४६० मतदातामध्ये ५२.३१ प्रतिशतले मतदानमा भाग लिएको तथ्यले मतदाताको सहभागिताप्रतिको प्रतिबद्धता देखाउछ । दुई हजार महिला र एक हजार ९०३ पुरुष मतदाताको सहभागिताले यसपटक महिलाको सक्रिय भूमिका पनि झल्किएको छ ।
निर्वाचनको शान्तिपूर्ण सम्पन्नता पार्टीहरूबीचको सहमतिले सम्भव भएको हो । एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले सहमति गरेर निर्वाचन प्रक्रियालाई सहज बनाएका छन् । यो सहमति मात्र नभई लोकतन्त्रप्रतिको सम्मान र लोकतान्त्रिक पद्धति बलियो बनाउने ठूलो प्रयासको पनि प्रमाण हो ।
२०७४ को स्थानीय तह निर्वाचनबाट उपाध्यक्ष पदमा निर्वाचित भएकी मैनादेवी जोशीको असामयिक निधनपछि उपनिर्वाचन गरिनु जरुरी थियो । यसपटक शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनु बाजुराको जनताको परिपक्वता र दलहरूको सहकार्यको नतिजा हो ।
यद्यपि विकट क्षेत्र भएकाले मतपेटिका संकलनमा कठिनाइ हुने अनुमान गरिएको छ। तर सर्वदलीय सहमतिको आधारमा मतगणनाको प्रक्रिया थालनी हुने स्पष्टता देखिन्छ।
यो निर्वाचनले शान्तिपूर्ण प्रक्रियाको उदाहरण प्रस्तुत गर्दै लोकतान्त्रिक परम्परालाई थप सुदृढ गरेको छ । यस्तो अभ्यासलाई निरन्तरता दिने हो भने विकट क्षेत्रका समस्याहरूलाई समाधान गर्दै निर्वाचन प्रणालीलाई अझै प्रभावकारी बनाउन सकिन्छ । बाजुराले देखाएको यो उदाहरणलाई अन्य स्थानहरूले पनि अनुसरण गर्नुपर्छ । आगामी निर्वाचनमा बाजुरा जिल्लाभर यस्तै अवस्था सृजना होस । मतगणना पनि कुनै पनि खालको गलत हर्कत नहोस, सबैले परिणाम स्वीकार गर्न सकुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार