१९ मंसिर २०८१, बुधबार

बाजुरामा शान्तिपूर्ण रुपमा निर्वाचन, धेरै ठाउँमा आजै गणना हुने



धनगढी/ हरेक चुनावमा अशान्ति हुने बाजुरामा यसपटक शान्तिपूर्णरुपमा निर्वाचन भएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा भएको हो । सो निर्वाचनमा तीन हजार ९०३ अर्थात ५२.३१ प्रतिशत मत खसेको छ ।

नौ वटा मतदान स्थल रहेको सो गाउँपालिकामा सात हजार ४६० मतदाता रहेका थिए । तर दुई हजार महिला र एक हजार ९०३ जना पुरुष गरेर जम्मा तीन हजार ९०३ जनाले मतदान गरेका छन् ।

निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गतबहादुर महतका अनुसार उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपा (एमाले) बाट सुलोचना बुढा , नेपाली कांग्रेसबाट, पुल्लीसरा शाही, एकिकृत समावादीबाट जवा शाही लागि उम्मेदवार रहेका छन् ।

२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित भएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

बाजुरामा यसपटक शान्तिपूर्ण रुपमा चुनाव गर्ने भनेर एमाले, कांग्रेस, माओवादी र समाजवादी बीच सहमति भएको थियो । बाजुरामा सर्वदलिय बैठकपछि मत गणना हुने कुरा टुंगो लाग्नेछ । यद्यपी विकट क्षेत्र भएकोले आजै मतपेटिका संकलन हुन कठिन हुने छ ।

दार्चुलामा ६९ प्रतिशत मत खस्यो, आजै गणना हुने
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा उत्साहजनकरूपमा मतदान भएको छ । एक हजार २७२ मतदाता रहेको दुहुँ–५ मा करिब ६९ प्रतिशत अर्थात ८७७ मतदाताले मतदान गरको छन् । सो वडामा आजै गणना हुनेछ ।

दुई वटा केन्द्र रहेको दुहुँ–५ गरमोराको (क) केन्द्रमा महिला २१४, पुरुष २२३ गरि जम्मा ४३७ मत र (ख) केन्द्रमा महिला २६२, पुरूष १७८ गरि जम्मा ४४० मत खसेको छ ।

दुहुँ गाउँपालिका–५ को दुबै केन्द्रमा गरि वडाअध्यक्ष पदका लागि जम्मा ८७७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताए ।

दुहुँ–५ को वडाअध्यक्षमा चार जनाको उम्मेदवारी छ । मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेका बीचमा हुने आकलन गरिएको छ । दुहुँ–५ का तत्कालीन वडाअध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

भीमदत्त–६ मा करिब तीन हजार मत खस्यो

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा भएको उपनिर्वाचनमा दुई हजार ९९१ मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार ‘सर्वदलिय बैठकबाट मतगणनाबारे निर्णय हुन्छ ।’ पाँच हजार ४३४ कुल मतदाता रहेको सो वडामा मतदाताहरु उत्साहका साथ मतदानमा उत्रिएका थिए ।

तत्कालिन वडाअध्यक्ष महेन्द्र खड्का ०८० पुस २६ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि वडाध्यक्ष पद रिक्त थियो ।

अध्यक्षका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार छन् । नेपाली कांग्रेसका प्रकाश चन्द, नेकपा (एमाले)का बहादुर चन्द, नेकपा (माओवादी केन्द्र) का नानाराम कोली, नेकपा (एकीकृत समाजवादी) का जितेन्द्रबहादुर चन्द र राप्रपाका सुशिलकुमार भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, राप्रपा नेपालका दिलबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौँरा, जनमत पार्टीका यादव बहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, स्वतन्त्र युवराज चन्द र थानेश्वर लेखक प्रतिस्पर्धामा छन् ।

२०७९ को स्थानीय तह चुनावमा भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस प्यानल नै विजयी भएको थियो । २०७९ को चुनावमा कांग्रेसले वडाध्यक्षमा एक हजार १०२ मत ल्याएको थियो ।

निकटतम प्रतिस्पर्धी एमालेका जनकराज अवस्थीले ६९८ मत ल्याउनु भएको थियो । राप्रपाका सुशीलकुमार भट्टले ४८७ र एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्द २३२ मत पाएका थिए ।

डोटी र बझाङमा पनि चुनाव
प्रदेश निर्वाचन कार्यालयका अनुसार डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एक हजार ५९३ मध्ये ८३९ र बझाङको सुर्मा गाउँपालिका–४ मा एक हजार ५५४ मध्ये एक हजार १७८ जनाले मतदान गरेको छन् ।

सो कार्यालयका अनुसार कुल मतदाताको अवस्था अनुसार सबैभन्दा धेरै बझाङमा र सबैभन्दा कम बाजुरामा मत खसेको छ ।

कैलालीका जिसस प्रमुखद्धारा पदभार गहण


कैलाली जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भूलले पद्भार ग्रहण गरेकी छन् ।

आइतबार पद् तथा गोपनियताको शपथ ग्रहणपछि उनले पद्भार गरेकी हुन । यसअघि, कैलाली जिल्ला अदालतमा जिल्ला न्यायाधिश दण्डपाणि लामिछानेले भुललाई शपथ ग्रहण गराएका थिए ।

निर्वाचन आयोगले भुललाई निर्वाचित भएको प्रमाणपत्र पनि आइतबार नै प्रदान गरेको थियो । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रेमराज भट्टले उनलाई प्रमाणपत्र प्रदान गरेका थिए । तत्कालीन जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएपछि कैलाली जिससमा उपनिर्वाचन भएको हो ।

प्रमुखका लागि कांग्रेसकोतर्फबाट भुल र नागरिक उन्मुक्ति पार्टीको रुक्मति थारु गरी दुई जनाको उम्मेदवारी परेको थियो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार थारुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि भुल जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएकी हुन । भूल कैलारी गाउँपालिका–२ को वडा सदस्य थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार