२० मंसिर २०८१, बिहीबार

बाजुराका चार दलबीच बुथ कब्जाको राजनीति अन्त्य गर्न सहमति




बाजुरा/ जिल्लामा हुने सबै निर्वाचनलाई शान्तिपूर्ण र भयरहीत बनाउन बाजुराका ४ राजनीतिक दलले ३ बुँदे समझदारी गरेका छन् । मंंसिर १६ गते हुने स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचन लक्षित चार दलका शिर्ष नेताहरुले तीन बुँदे समझदारी गरेका हुन् ।

बाजुरामा क्रियाशिल चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका शिर्ष नेताहरुको साझा छलफलबाट कुनै पनि निर्वाचनमा कुनै पनि दलका तर्फबाट बल प्रयोग र जबरजस्तीका गतिविधि नहुने गरेर समझदारी गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको संयोजनमा आपसी समझदारी गरिएको हो । बाजुरा चुनावकै कारण बदनाम हुने गलत परिपार्टीको अन्त्यका लागि तीन बुँदे लिखित समझदारी गरिएको एमाले स्थायी कमिटी सदस्य थापाले जानकारी दिए । बाजुरालाई हत्या, काटमार र बुथ कब्जाको जिल्लाका रुपमा जबरजस्त ट्याग लगाउने गरिएको छ ।

२०७९ सालको संघ र प्रदेशको निर्वाचन र २०७९ सालकै बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनको सन्देश देशव्यापी गलत तरिकाले फैलिएको छ । विशेष गरेर काँग्रेस एमालेले आफूअनुकुलका बुथहरु कब्जा गर्ने, कमजोरी पक्षलाई कुटपीट गर्ने र मतदानमा खटिएका कर्मचारीलाई समेत धम्की दिने, आक्रमण गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

विचारको बहस गर्ने समयमा पनि हिंसा र कुटपीटको शैली अपनाउने कुरा लोकतान्त्रिक, मानव अधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित भएको निष्कर्ष सहित चार वटै दलका नेताहरुले शान्तिपूर्ण, भयरहीत र निष्पक्ष निर्वाचनका पक्षमा प्रतिवद्ध रहेको समझदारी सहित सामूहिक रुपमा लिखित प्रतिवद्धता जनाएका छन् ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते अर्थात भोली उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुदैछ । थिति बसाउने गरेर, राजनीतिक संस्कार सहितको दलिय व्यवहार गर्न सकारात्मक सन्देश सहितको समझदारी गरिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सहायकमन्त्री जनकराज गिरीले बताएका छन् ।

दलका नेताहरुले सबै मतदातालाई मतदानमा भाग लिन सामूहिक आह्वान गरेका छन् । आफ्नो मत आफैले हाल्ने र फरक क्षमता र अशक्तको बाहेक दोस्रो व्यक्तिलाई हाल्न नदिने समझदारी गरेका छन् ।

मतदानमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र सबै मतदातालाई शान्त र भयरहीत वातावरणमा मतदान गराउन राजनीतिक दलका नेताहरु जिम्मेवार हुने र आफ्ना नेता कार्यकर्तालाई जिम्मेवार र संयमित गर्ने सहमझदारी गरेका छन् ।

सबै राजनीतिक दलहरुको बीचमा समझदारी गरेर विकास निर्माणका काम गर्दै आगामी निर्वाचनमा उच्च स्तरको लोकतान्त्रिक वातावरण निर्माण गर्न दलका बीचमा समयसमयमा छलफलको आयोजना गरेर उच्च राजनीतिक सँस्कति निर्माण गर्ने सहमझादरी गरिएको छ ।

समझदारी पत्रमा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य, बाजुरा इन्चार्ज लालबहादुर थापा, कांग्रेस नेता जनकराज गिरी, एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य हिक्मतबहादुर शाही, अर्का पोलिटव्यूरो सदस्य नरेश कुमार शाही, एमाले प्रदेश उपाध्यक्ष कालीबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।

यसैगरी एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, नेपाली कांग्रेसका जिल्ला सभापति रामसिंह रावल, समाजवादी पार्टीका जिल्ला अध्यक्ष पुरबहादुर रावत, माओवादीका केन्द्रीय सदस्य मनलाल खत्री, प्रदेश कमिटी कोषाध्यक्ष कमलकुमारी शाह, प्रदेश कमिटी सदस्य महेश शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेताहरुले पार्टीको विचार र सिद्धान्तसँगै मानवीय व्यवहार, मताधिकार र राजनीतिक व्यवाहारलाई उच्च राखेर निर्वाचन गराउने र बाजुरालाई बद्नाम भन्दा विकासको जिल्लाको रुपमा परिचित गराउने कार्यमा जिम्मेवार रहने समझदारी गरिएको छ । सझदारी पिलुचौरमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार