११ पुष २०८१, बिहीबार

दार्चुलामा जिप दुर्घटना, आठ जनाको मृत्यु




दार्चुला/
दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको मालिकार्जुन मन्दिरको जात्राबाट फर्किने दर्शनार्थी बोकेको जिप दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको हो ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जादै गरेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार विहान ४ बजे शैल्यशिखर नगरपालिका–६ ग्वानीमा दुर्घटना भएको हो ।

जिप दुर्घटनामा परेर शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप विष्ट र ४० वर्षीया मिना लेखक, शैल्यशिखरकै वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय विरेन्द्र रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले बताए ।

ज्यान जानेमा सोही ठाउँका २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका–५ का ५० वर्षीय विरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसि पनि छन् । ती मध्ये पाँच जनाको घटनास्थलमै र बाँकी तीन जनाको उद्धार गरेपछि उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भीर चोट रहेको छ । २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएका छन् । दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो ।

गम्भीर घाइते तीन जनालाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो
जिप दुर्घटना परि घाइते भएकामध्ये अवस्था गम्भीर रहेका तीन जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिएको छ ।

शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले दुर्घटनामा परेर गम्भीर घाइते जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दिप रावललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत धनगढी पठाइएको बताए ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार घाइते दुई जनाको अवस्था भने सामान्य रहेको र उनीहरुको गोकुलेश्वर अस्पतालमै उपचार भइरहेको छ ।

मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किदैगर्दा घर नपुग्दै आठ जनाको जिप दुर्घटनामा परेर मृत्यु भएपछि दार्चुलाबासी स्तब्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार