३ आश्विन २०८१, बिहीबार

आत्महत्या रोक्न धनगढीका मेयरलाई ज्ञापन पत्र



धनगढी/ आत्महत्या रोकथाम बारे संवाद सुरु गरौः दृष्टिकोण बदलौ” भन्ने धारणाका साथ धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई आज ज्ञापन पत्र बुझाइएको छ ।

विश्व आत्महत्या रोकथाम दिवस २०२४ को सन्दर्भमा नगर प्रमुख हमाललाई ज्ञापन पत्र बुझाइएको हो । प्रत्येक वर्ष सेप्टेम्बर १० का दिन विश्वभर आत्महत्या रोकथाम विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर मनाइने गरिएको छ ।

सो अवसरमा मेयर हमालले आगामी दिनमा यस्ता पक्षहरुलाई पालिकाले पनि मुख्य रुपमा हेर्ने बताए । उनले भने सबैसँग समन्वयका गरेर विशेष गरेर किशोर किशोरीमा देखिएको आत्महत्या रोकथामका लागि योजनाबद्ध तरिकाले जाने र प्रचारप्रसारमा समेत ध्यान दिइने छ ।

सो दिवसको सुरुवात सन २००३ मा भएको हो । आत्महत्या रोकथामका लागि अन्तराष्ट्रिय संगठनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुरुवात गरिएको थियो । यस दिवसको मुख्य उदेश्य आत्महत्या रोकथामका लागि सचेतना, यससँग सम्बन्धित लाञ्छाना न्यूनिकरण र विश्वव्यापी रुपमा आत्महत्या रोकथामका लागि कार्यहरुलाई प्रोत्साहन गर्नु रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

नेपालमा पनि हरेक वर्ष आत्महत्या रोकथाम दिवस मनाउदै आइएको छ । यस वर्ष आत्महत्या रोकथाम बारे संवाद सुरु गरौस दृष्टिकोण बदलौ” नारा सहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

विश्वमा मृत्युको २० प्रमुख कारणहरु मध्येआत्महत्या पनि एक मुख्य कारण हो । विश्वमा हरेक वर्ष करिव सात लाख व्यक्तिहरुले आत्महत्याको कारणले ज्यान गुमाउने गरेका छन् । हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्याको कारणले मृत्यू हुने गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रत्येक आत्महत्याबाट आत्महत्या गर्ने मानिसको ज्यान गुम्ने मात्र नभइ सो व्यक्तिसँग सम्बन्धित १३५ जनालाई पनि आघात पुग्ने गर्दछ । नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्दा हरेक वर्ष आत्महत्याको दर बढ्दै गरेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क हेर्दा जम्मा सात २२३ जनाले आत्महत्याको कारणले ज्यान गुमाएको देखिएको छ । पछिल्लो समय नेपालमा किशोर–किशोरीहरूमा आत्महत्याको घटना बढ्दै गएको तथ्यांकहरुले देखाएको छ ।

नेपाल प्रहरीले उपलब्ध गराएको गत वर्ष २०८०/८१ को तथ्यांकलाई हेर्दा ३३१ बालक र ५९२ बालिका गरेर ९२३ जना बालबालिका तथा किशोर किशोरीले गएको आर्थिक वर्षमा आत्महत्याको कारण ज्यान गुमाएको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/ २०८० को सोहि अवधिमा २६६ बालक र ५२९ बालिका गरि ७९५ जनाले आत्महत्या गरेको देखिएको छ । आत्महत्याको कारण बहुआयामिक हुन्छ । यद्यपी आत्महत्याको सम्बन्ध मानसिक स्वास्थ्य समस्यासँग रहेको पाइन्छ । विगतमा आत्महत्याको प्रयास गरेको मानिसहरुले आत्महत्या दोहो¥याउने सम्भावना अन्य व्यक्तिहरुको तुलनामा धेरै हुन्छ । साथै जीवनप्रति नैराश्यता लगातार अनुभव गर्ने मानिसहरु र युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना वा भेदभाव अनुभव गरेको व्यक्तिहरुमा आत्महत्या गर्ने सम्भावना बढि छ ।

बहुपक्षिय निकायहरुको संयुक्त प्रयत्नबाट आत्महत्याका घटनाहरु न्यूनिकरण गर्न सम्भव हुन्छ । मानसिक रोगको उपचार गर्नाले पनि धेरै मात्रामा आत्महत्या रोकथाम हुन्छ । नेपाल सरकारले आत्महत्या न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाई ११६६ सञ्चालनमा रहेको छ जहाँ २४ सै घण्टा सेवा उपलब्ध गराइएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनिती तथा कार्ययोजना २०७७ ले पनि मानसिक स्वास्थ्यका लागि तिनै तहका सरकारहरुको भूमिकालाई स्पष्ट पारेको छ ।

मानसिक स्वास्थ्य सेवाको कार्यक्रमहरुलाई विस्तार गर्न सरकारले महत्वपूर्ण कदम लिरहेको छ यद्यपी पर्याप्त भने रहेको छैन । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २)७७ मा स्थानीय तहको भूमिका बारेमा उल्लेख गरिएका कुरा पनि ज्ञापन पत्रमा उल्लेख छ ।

जसअनुसार आत्महत्या रोकथाम कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गर्ने, कृषिक्षेत्रमा प्रयोग हुनेविषादीको पँहुचमा नियन्त्रण गर्न सम्बन्धित क्षेत्रसंग समन्वय र सहकार्य गर्ने, आत्महत्या सम्बन्धी घटनाको अभिलेख बनाई कार्यान्वयनमा ल्याउने, आत्महत्याका घटनालाई समाचारको रूप दिँदा र सूचना सम्प्रेकषण गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा सञ्चारकर्मीसँग समन्वय र सहकार्य गर्नेमा जोड दिइएको छ ।

विश्व आत्महत्या रोकथाम दिवस २०२४ को अवसरमा हामी सबैलाई आफ्नो स्थानबाट जनचेतना फैलाउन, यससँग जोडिएको लाञ्छना कम गर्न भूमिका खेल्नका लागि आह्वान गर्दछौं । साथै यस सम्बन्धि कार्यक्रम एक विशेष दिनमा मात्र भन्दा पनि यसलाई नियमित रुपमा समुदायस्तरमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको प्रमुख दायित्व हो ज्ञापन पत्रमा उल्लेख छ ।

यस्तैगरेर सरोकारवाला निकायहरु, गैरसरकारी संघसंस्थाहरु र मानसिक स्वास्थ्यमा कार्यरत सघं संस्थाहरुको एकिकृत सहकार्यका लागि विश्व आत्महत्या रोकथाम दिवस २०२४ को अवसरमा हामी सबैलाई आफ्नो स्थानबाट जनचेतना फैलाउन, यससँग जोडिएको लाञ्छना कम गर्न भूमिका खेल्नका लागि आह्वान गर्दछौं ज्ञापन पत्रमा भनिएको छ यस सम्बन्धि कार्यक्रम एक विशेष दिनमा मात्र भन्दा पनि यसलाई नियमित रुपमा समुदायस्तरमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको प्रमुख दायित्व हो ।

ज्ञापन पत्रमा सरोकारवाला निकायहरु, गैरसरकारी संघसंस्थाहरु र मानसिक स्वास्थ्यमा कार्यरत संघ संस्थाहरुको एकिकृत सहकार्यका लागि प्रभावकारी पहलकदमी लिनहुन हार्दिक अपिल गर्दछौं समेत भनिएको छ ।

ज्ञापन पत्रमा टीपीओ नेपाल, पिसविन नेपाल, एकता नेपाल, दलित अधिकार मञ्च, सिविन नेपाल लगायतका प्रतिनीधिको उपस्थिति थियो ।

यसैगरेर धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा र यस क्षेत्रमा कार्यरत संघ संस्थाको समन्वयमा धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा संघ संस्था र पालिका मार्फत जनचेतना मुलक कार्यक्रम गर्ने निर्णय अनुसार कार्यक्रमहरु भएका छन ।

सोही अनुरुप १८ नम्बर वडास्थित चन्द्रोदय मावि फुलबारिमा जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार