२७ पुष २०८१, शनिबार

विपद्का बेला जोगिन कृतिम अभ्यास




धनगढी/ नेपाली सेनाको सुदुरपश्चिम पृतना हेडक्वाटरले शुक्रबार लम्कीचुहा नगरपालिका–३ स्थित कर्णाली नदीमा मनसुन जन्य विपद न्युनिकरण सम्बन्धि संयुक्त कृतिम अभ्यास गरेको छ ।

सो अभ्यासमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी, यूएनडिपी, वल्र्ड भिजन, ह्यावीटेट नेपाल लगायतका संघ, संस्थाको सहभागिता थियो ।

सो अभ्यासमा नेपाली सेनाले बाढी तथा डुबानको समयमा फसेका व्यक्तिहरुलाई मोटरबोट,रबर बोटबाट खोज तथा उद्धार, खोचमा फसेका व्यक्तिहरुलाई अत्याधुनिक उद्धार सामाग्रीको सहायताले कर्णाली पुलबाट झरेर उद्धार अभ्यास गरिएको थियो । उद्धार कार्यमा स्थानीय श्रोत साधनबाट तयार साधनबाट पनि उद्धार अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ ।

सो अवसरमा सशस्त्र प्रहरी बल नेपालका गोताखोरबाट नदीमा वेपत्ताहरुको खोज, उद्धार तथा नेपाल प्रहरीको टोलीले समेत रबरबोटबाट अभ्यास गरेको थियो ।

अभ्यासमा क्रममा बोट पल्टाउने अभ्यास र घाइते विरामीलाई उपचार तथा उनीहरुको अवस्थाको मूल्यांकन प्रदर्शन गरिएको थियो । साथै गैरसरकारी संघ संस्थाबाट कार्य पकृति अनुरुप अभ्यास संचालन गरिएको थियो ।

कर्णाली नदीमा भएको संयुक्त कृत्रिम अभ्यासले विपदको समयमा एकिकृतरुपमा परिचालन भई खोज तथा उद्धार प्रभावकारी भई जनधनको क्षति न्युनिकरण गर्न सहयोग पुग्नुको साथै स्थानीय श्रोत साधन प्रयोगबाट सीमित श्रोत साधनले पनि विपदको असर न्युनिकरण गर्न सहयोग पुग्ने विश्वास गरेका छौ सुदूरपश्चिम पृतनाका प्रमुख सेनानी रवि खड्काले बताए ।

सो अभ्यासमा सुदुरपश्चिम पृतनाका पृतनापति, उपरथी विजय थापा, प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहरा , जिल्ला सुरक्षा समितिका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत स्थानियहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार