२४ पुष २०८१, बुधबार

व्यवसायीद्वारा कडा सडक आन्दोलन घोषणा
बजार बन्ददेखि नो डिपोजिटसम्म




धनगढी/ आन्दोलनमा रहेका व्यवसायीहरुले थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बैंक तथा वित्तीय संस्थाले चर्को रुपमा ब्याजदर वृद्धि गरेको व्यवसायीहरु केही दिनदेखि सडक आन्दोलनमा रहेका छन् ।

कैलाली उद्योग बाणिज्य संघको अगुवाईमा एक दर्जन बढी व्यवसायिक संघसंस्थाहरूले चर्को बैंक कर्जा ब्याजदर बृद्धिविरुद्ध बजार बन्ददेखि बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा (निक्षेप) नगर्ने सम्मको कार्यक्रम घोषणा गरेका छन् ।

कोभिड महामारीसँगै अर्थतन्त्र निरन्तर ओरालो लागेको सन्दर्भमा उद्योगी व्यवसायीहरूले लामो समयदेखि सरकारसँग अर्थतन्त्र सुधारका लागि विभिन्न माग प्रस्तुत गर्दै आएका थिए । तर, सरकारले हालसम्म पनि निजी क्षेत्रका मागहरू सम्बोधन गरेको छैन । यद्दपि पूर्ववर्ती सरकार तथा वर्तमान सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले विभिन्न अवसरमा अर्थतन्त्र सुधारको प्रतिवद्धता व्यक्त गर्दै आएका छन् ।

कैलाली उद्योग बाणिज्य संघको अगुवाईमा भोली बिहान ९ बजेदेखि ११ बजेसम्म धनगढी बजार बन्द गरिने घोषणा गरिएको छ । आज आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कैलाली उद्योग बाणिज्य संघका पदाधिकारीहरूले भोली १५ गतेदेखि हरेक दिन एक घण्टा बजार बन्द गर्ने घोषणा गरे । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने– भोली (१५ गते) देखि हरेक दिन एक घन्टा बजार बन्द गरिने छ । र विरोध प्रदर्शन गरिने छ ।

उनले नेपाल राष्ट्र बैंक, बाणिज्य बैंकहरू, जिल्ला प्रशासन कार्यालय तथा शहरका विभिन्न चोकहरूमा विरोध प्रदर्शन गरिने बताए । उद्योग बाणिज्य संघले चेतावनी दिएको छ– सरकारले निजी क्षेत्रका मागहरूको सम्बोधन गरेन भने थप सशक्त कार्यक्रम अघि बढाइने छ ।

व्यवसायीहरूले आन्दोलनका क्रममा आगामी १८ गते “नो डिपोजिट” अथवा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप नगर्ने समेत घोषणा गरेका छन् । उद्योग बाणिज्य संघका अनुसार दोस्रो चरणको आन्दोलन आगामी २० गतेसम्म सञ्चालन हुने छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले ‘अहिलेसम्म अरुको लागि व्यापार, व्यवसाय बन्द गर्दै आएकोमा अब आफ्नै लागि व्यापार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य” भएका छौं ।

संघले सरकारले माग सम्बोधन नगरे आगामी चैत १ गतेबाट अझ कडा आन्दोलनका कार्यक्रम अघि बढाइने जनाएको छ ।
व्यवसायीहरूले केही महिनाअघिसम्म ७ प्रतिशत रहेको बैंक कर्जा ब्याजदर बृद्धि गरी १७ प्रतिशत पु¥याएर अर्थतन्त्र, उद्योग व्यापार धरासायी हुने अवस्थामा पुगेको गुनासो गर्दै आएका छन् । कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुस्करराज ओझाले भने– बैंक तथा वित्तीय संस्थाहरूले मनोमानी ढङ्गले कर्जा ब्याजदरमा बृद्धि गरेर व्यापार व्यवसाय धरासायी बनाउने काम भएको छ । सरकारले हाम्रो मागको सुनुवाई नगरेकोले आन्दोलनका थप कार्यक्रम अघि बढाउन बाध्य भएका छौ ।

आन्दोलनरत व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूको चर्को कर्जा ब्याजदरका कारण पेसा बाटै पलायन हुने अवस्था सिर्जना भएको गुनासो गर्दै आएका छन् । उनीहरूले केही समयअघि एक अङ्कमा रहेको कर्जा ब्याजदर दुई अङ्कमा पुर्याइएपछि व्यवसायीहरूले पेसा व्यवसायबाटै पलायन हुने अवस्था सिर्जना भएको बताउँदै आएका छन् ।

आन्दोलनरत व्यवसायीहरूले दोब्बर बढी पुर्याइएको सेवा शुल्क र कर्जा स्वीकृति शुल्क घटाउन र चालू पुँजीकर्जा निर्देशिका स्थगित गर्न माग गरेका छन् । उनीहरूले बैंक तथा वित्तीय संस्थाको कर्जा ब्याजदर र निक्षेप ब्याजदर बृद्धि गर्दा पनि निक्षेप नबढेको सन्दर्भमा उद्योगका लागि एक अङ्क नपुग्ने गरी र व्यापारमा बढीमा दुई प्रतिशत मात्र थप गरी लगानीयोग्य पुँजीको व्यवस्थापनको माग गर्दै आएका छन् ।

सडक आन्दोलन घोषणाअघि गत साता एक पत्रकार सम्मेलनमार्फत कैलाली उद्योग बाणिज्य संघसहितका संस्थाहरूले सरकारसामु मागपत्र प्रस्तुत गर्दै बैंकहरूको खर्च न्युन गरी स्पेडदर तीन प्रतिशतभित्र रही जोखिमका आधारमा बढीमा दुई प्रतिशत मात्र थप प्रिमियन लिन पाउने व्यवस्था मिलाउन माग गरेका थिए । आन्दोलनमा रहेका व्यवसायीहरूले हालका कर्जाहरूलाई चालू आर्थिक वर्षसम्म पुनःतालिकरण गरी ब्याज बुझाउने म्याद ३५ दिनसम्म नियमित मान्ने र लिलाम प्रक्रियालाई हाल स्थगित गर्न समेत माग गरेका छन् । उनीहरूले व्यवसायीहरूलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न र किस्ता र ब्याज तिर्ने समयसीमा बढाउन समेत माग गर्दै आएका छन् ।

व्यवसायीहरूले कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न र पर्यटनलाई प्राथमिकताप्राप्त क्षेत्र घोषणा गरी कर्जा प्रवाह गर्न सरकारसँग अनुरोध गरेका छन् । उनीहरूले पछिल्लो ६ महिनामा कर्जा ब्याजदर दोब्बर बनाउँदा आधिकारिक व्यापार विस्थापित हुन पुगेको र अनाधिकृत व्यापारले प्रश्रय पाएकोप्रति पनि सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।

व्यवसायी नेताहरूले बैंक, ऋणी र निक्षेपकर्ताबीच एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था सिर्जना गर्न पनि सरकारसामु माग गरेका छन् ।

कैलाली उद्योग बाणिज्य संघले आह्वान गरेको आन्दोलनमा कैलाली होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, कैलाली हार्डवेयर व्यवसायी संघ, कैलाली निर्माण व्यवसायी संघ, सुदूरपश्चिम व्युटीपार्लर एसोसिएसन, कैलाली तरकारी तथा फलफूल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोवाइल्स डिलर्स एसोसिएसनले ऐक्यवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार