गाउँपालिका अध्यक्षद्वारा आफूले पाएको सुविधा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग
धनगढी/ कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले आफूले गाउँपालिकाबाट पाएको सुविधा, पारिश्रमिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेका छन् ।
अध्यक्ष कुँवरले चुनावताका मतदातासामु गरेको प्रतिवद्धताअनुसार गाउँपालिकाका भित्र रहेका (क) र (ख) बर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई नगद सहयोग गरेका हुन ।
चुनावमा विजयी भएपछि गत जेठदेखि मंसिरसम्म पारिश्रमिक तथा भत्तावापत पाएको ४ लाख ७ हजार रुपैया (क) र (ख) वर्गका दुई सय २९ जना अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरे । शुक्रबार गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच उनले प्रतिव्यक्ति एक हजार ७ सय ७० रुपैयाँका दरले सहयोग वितरण गरे ।
सो अवसरमा अध्यक्ष कुँवरले आफूले आफनो कार्यकालभरी पाउने सेवा सुविधालाई पालिकामा रहेका विपन्न वर्ग, विपन्न बालवालिका, असहाय तथा टुहुराहरुको सहयोगमा खर्च गर्ने लक्ष्य रहेको बताए । उनले भने– म गाउँपालिकामा तलबसुविधा पाउनका लागि आएको होइन, जनताको सेवा गर्न आएको हुँ ।
कार्यक्रममा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर बम, नेपाली काङ्ग्रेसका गाउँ समिति सभापति कृष्णबहादुर बिष्ट, राप्रपा नेपालका नविन जोशी, हेमराज स्वार लगायतले गाउँपालिका अध्यक्ष कुँवरले सराह्रनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
नगद सहयोग प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरुले गाउँपालिका अध्यक्ष कुँवर आफूहरुका लागि अभिभावकका रुपमा रहेको बताए ।