३ आश्विन २०८१, बिहीबार

एमाले नेता बास्तोलाले पार्टी छोडे




धनगढी/ नेकपा एमाले, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य यज्ञराज बास्तोलाले पार्टी परित्याग गरेका छन् । आसन्न निर्वाचनमा कैलाली–५, प्रदेश सभा क बाट एमालेका उम्मेदवार घोषणा भएका बास्तोलाले अन्तिम समयमा आफ्नो टिकट खोसिएको भन्दै पार्टीको साधारण सदस्यताबाट समेत राजिनामा दिएका छन् ।

प्रदेश सभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने दिन आइतबार (२३ गते) नै उनले सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा प्रकाशित विज्ञप्तीमा उनले भनेका छन्– यस पटकको निर्वाचनमा मलाई कैलाली–५ (क) प्रदेश सभा सदस्यको उम्मेदवार निर्णय गरिसकेको अवस्थामा पार्टीको जिल्ला इन्चार्ज नारदमुनि रानाको लिडेढिपी र जिद्दिका कारण कम्युनिष्ट पार्टीलाई जातीय पार्टी बनाएको र पार्टीले निर्णय गरेर मलाई दिइसकेको टिकट खोस्ने काम गरेका छन् ।

उनले अगाडी लेखेका छन्– नारदमुनि जस्ता व्यक्तिको नेतृत्वमा बसेर काम गर्दा पार्टी र समाजको भलो नहुने, पार्टी नेतृत्वले पनि आफ्नो निर्णयमा दह्रो नउभिएर न्याय नगरेको हुँदा त्यस्तो नेतृत्वबाट भविष्यमा पनि न्याय नहुने भएकोले सबै तहको जिम्मेवारी र साधारण सदस्यताबाट स्वइच्छाले राजिनामा गरेको छु ।

२०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका बास्तोला २०३९ सालदेखि कैलाली, दाङ, रोल्पा लगायतका जिल्लामा नेकपा एमाले (तत्कालीन माले) को विभिन्न पदमा रहेका काम गरिसकेका छन् । उनी २०५० सालदेखि नेपाल किसान महासंघका केन्द्रीय सचिवालय सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार