५ असार २०८३, शुक्रबार

‘बजेट खारेज गरेर नयाँ ल्याउनुपर्छ’ : सुदूरपश्चिम सरकारविरुद्ध नेकपाको कडा आक्रमण



धनगढी/ सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै यथास्थितिमा पारित हुन नदिने घोषणा गरेको छ। पार्टीले बजेटलाई संशोधन गरेर सुधार गर्न सकिने अवस्था नरहेको दाबी गर्दै त्यसलाई खारेज गरी नयाँ बजेट ल्याउनुपर्ने माग गरेको हो।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकारले ल्याएको बजेट इतिहासकै कमजोर, अपारदर्शी र जनविरोधी दस्तावेज भएको आरोप लगाए। उनका अनुसार बजेट जनताको आवश्यकता पूरा गर्नेभन्दा पनि दलाल, बिचौलिया र सीमित समूहको स्वार्थ पूरा गर्ने उद्देश्यले तयार गरिएको छ।

‘यो बजेटमा सामान्य संशोधन गरेर सुधार गर्ने अवस्था छैन। यसलाई पुनर्लेखन होइन, खारेज गरेर नयाँ बजेट ल्याउनुपर्छ,’ उनले भने, ‘बजेटमा यति ठूलो कमजोरी छ कि टालटुल गरेर सुधार गर्न सम्भव छैन।’

भट्टले मध्यरातमा बजेट प्रस्तुत गरिएको घटनालाई अस्वाभाविक भन्दै त्यसले प्रदेश सरकारको कार्यशैलीमाथि नै प्रश्न उठाएको बताए। उनका अनुसार बजेटले प्रदेशवासीलाई आशा होइन, निराशा दिएको छ।

उनले प्रदेश सरकारमा भ्रष्टाचार र बेथिति मौलाउँदै गएको आरोप लगाउँदै त्यसविरुद्ध सदन र सडक दुवैबाट संघर्ष गर्ने चेतावनी दिए। बजेट संघीय लोकतान्त्रिक गणतन्त्रको भावना, सरकारकै नीति तथा कार्यक्रम र विकासका प्राथमिकतासँग मेल नखाने उनको भनाइ थियो।

भट्टले बजेट निर्माण प्रक्रियामै गम्भीर अनियमितता भएको आरोप पनि लगाए। विभिन्न मन्त्रालयबाट आएका योजनाहरू मुख्यमन्त्री कार्यालयमार्फत होटल तथा गोप्य स्थानमा ‘सुटकेस बोकेर’ समावेश गरिएको भन्ने गुनासो आएको उल्लेख गर्दै उनले एउटै योजना फरक शीर्षकमा दोहोरिएको, मापदण्डविपरीत साना योजना राखिएको तथा एउटा मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने योजना अर्को मन्त्रालयमा सारिएको दाबी गरे।

उनका अनुसार प्रदेश सभामा ३७ अर्ब ६० करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको भनिए पनि बजेटका कागजातमा फरक रकम उल्लेख गरिएको छ। साथै, २५ लाख रुपैयाँभन्दा कमका योजना नराख्ने मापदण्ड बनाइएको भए पनि थुप्रै साना योजना समावेश गरिएको उनले बताए।

मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै दुई करोड ५० लाख रुपैयाँभन्दा बढीका योजना समावेश गरिएको दाबी गर्दै उनले बजेट वितरणमा पक्षपात गरिएको आरोप लगाए।

पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले पनि सरकारले अपूर्ण र त्रुटिपूर्ण बजेट ल्याएको भन्दै त्यसको विरोधस्वरूप आफूहरूले बजेट प्रस्तुत गर्ने क्रममा सदन बहिष्कार गरेको बताए। उनले सरकारले बजेटलाई केवल औपचारिकता पूरा गर्ने माध्यम बनाएको टिप्पणी गरे।

नेकपाले प्रदेश सभाका सबै सदस्यलाई बजेटको वर्तमान स्वरूप अस्वीकार गर्न आग्रह गर्दै यथास्थितिमा बजेट पारित हुन नदिने अडान दोहोराएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार