८ असार २०८३, सोमबार

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ, एमालेद्वारा राजनीतिक प्रतिशोधको आरोप



काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको छ। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा आइतबार साँझ सुर्खेतबाट नियन्त्रणमा लिइएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटाका अनुसार विभागले अनुसन्धानका लागि पत्र पठाएपछि प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो।

“सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न विभागबाट पत्र आएको थियो। सोही आधारमा उहाँलाई नियन्त्रणमा लिएका हौं,” डिआइजी सापकोटाले बताए।

प्रहरीका अनुसार पौडेललाई सुर्खेतस्थित एक होटलबाट साँझ करिब ५ः३० बजे पक्राउ गरिएको हो। उनलाई प्रारम्भिक प्रक्रिया पूरा गरेपछि बाँकेको नेपालगञ्ज लगिएको छ। त्यहाँबाट सम्भव भए आइतबार रातिनै हवाईमार्फत काठमाडौं ल्याइने तयारी गरिएको प्रहरीले जनाएको छ।

यता, पौडेलको पक्राउप्रति नेकपा एमालेले कडा आपत्ति जनाएको छ। पार्टीले विज्ञप्ति जारी गर्दै सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको आरोप लगाएको छ।

एमालेले उपाध्यक्ष पौडेलमाथिको पक्राउलाई “कानुनी प्रक्रियाको आवरणमा गरिएको राजनीतिक प्रतिशोध” भन्दै तत्काल रिहाइको माग गरेको छ। पार्टीले कुनै पनि अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनसम्मत ढंगले हुनुपर्ने उल्लेख गर्दै प्रतिपक्षी नेतामाथि राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य नहुने जनाएको छ।

विज्ञप्तिमा सरकारले राजनीतिक असहमति दबाउन अनुसन्धान निकाय र सुरक्षा संयन्त्रको प्रयोग गरेको आरोप लगाउँदै यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने चेतावनी पनि दिइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने पौडेलमाथि भइरहेको अनुसन्धानका विषयमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। पक्राउसँगै उनीमाथिको अनुसन्धान प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार