९ पुष २०८१, मंगलवार

डडेल्धुरा काँग्रेसमा क्रियाशील सदस्यता विवाद झन् चर्कियो



-जिल्ला कार्यसमितिको अधिवेशन स्थगित गर्ने निर्णय

-निर्वाचन अधिकृतले अधिवेशनको मिति तोके

-विवादबीच कार्यकर्तामाझ हात हालाहाल

धनगढी / नेपाली काँग्रेस डडेल्धुरामा क्रियाशील सदस्यता सम्बन्धी विवाद चर्किदै गएको छ । विवादबीच क्रियाशील सदस्यतासम्बन्धी समस्या समाधान नभएसम्म जिल्ला कार्यसमितिले अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । अर्कोतिर अधिवेशनका लागि खटिइएका निर्वाचन अधिकृतले अधिवेशनको मिति तोक्दै सूचना प्रकाशित गरेका छन् ।

डडेल्धुरा काँग्रेस सभापति तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्लका अनुसार वडा, पालिका, क्षेत्र तथा जिल्लाबाट विधि र प्रक्रिया अनुसार केन्द्रमा पठाइएका नामावलीमा केन्द्रीय छानबिन समितिले साढे चार सय बढी जनाको नाम हटाएको छ भने सिफारिस नै नभएका तीन सय बढीको नाम थप गरेर नामावली पठाइएको छ ।

सदस्यता सम्बन्धी विवाद र अधिवेशनबारे छलफल गर्न मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले “सदस्यता सम्बन्धी विवाद समाधान नभएसम्म वडा सहित सबै तहको अधिवेशन स्थगित गर्ने” निर्णय गरेको छ ।

अर्कोतिर, मंगलबार नै निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमले आगामी २५ गतेदेखि असोज ५ गतेसम्म वडादेखि जिल्ला तहको अधिवेशन गर्ने सूचना जारी गरेका छन् ।

क्रियाशील सदस्यताबारे विवाद चर्किएसंगै काँग्रेस डडेल्धुरामा दुई पक्षकाट एकअर्कामाथि आरोपप्रत्यारोप लगाउने क्रम पनि बढेको छ । डडेल्धुरा काँगे्रसमा सभापति मल्ल सहित बहुमत पदाधिकारी र सदस्यहरु सदस्यता विवाद समाधान नभएसम्म अधिवेशन स्थगित गर्ने निर्णयमा अडिग रहेका छन् भने दुई जना सचिव र एक कोषाध्यक्ष अर्को पक्षमा उभिएका छन् ।

डडेल्धुरा काँग्रेसमा शुरुदेखि नै दुई खेमा रहदै आएका छन् । विवादबीच मंगलबार काँग्रेस कार्यकर्ताहरु नै एकापसमा भिडन्तमा उत्रिएका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार मंगलबार पार्टी कार्यालय अगाडि सभापति मल्ल पक्षधर र अर्को पक्षका कार्यकर्ताहरु एकअर्कामाथि आरोपप्रत्यारोप लगाउदै हात हालाहालमा उत्रिएका थिए ।

पार्टी कार्यालय अगाडी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए । सभापति मल्लले क्रियासिल सदस्यता विवादका कारण गाँउगाउमा कार्यकर्ताहरुबीच नै मुठभेड हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै प्रक्रियागत रुपमा क्रियासिल सदस्यता वितरण गरेर मात्रै अधिवेशन प्रक्रिया अघि बढाउनु पर्ने बताए ।

यसैबीच मंगलबार काँग्रेस जिल्ला कार्यसमितिले पत्रकार सम्मेलन आयोजना गर्दै केन्द्रले सदस्यताबारे गरेको मनपरि सहन गर्न नसकिने र प्रक्रिया अनुसार पठाइएका सदस्यताहरु सदर हुनुपर्ने बताएको छ ।

पत्रकार सम्मेलनमा सभापति मल्लले भने– केद्रबाटै उम्मेदवार तोक्ने र केन्द्रबाटै सदस्यता तोक्ने जस्तो अधिनायकवादी प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य हुदैन ।

सो अवसरमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ , सातौ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा जिल्लामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले भदौ २५ गते वडा अधिवेशन सम्पन्न गर्ने भनी प्रकाशित गरेको विज्ञप्तीप्रति नेपाली काँग्रेस डडेल्धुरा आश्चर्यचकित भएको छ ।

जबकी सोही अधिवेशन प्रयोजनका लागि नेपाली काँग्रेस डडेल्धुराले आज दिउसो १.०० बजे जिल्ला कार्यसमितिको बैठक स्वयं निर्वाचन अधिकृतको उपस्थितिमा शुरु गरेकोमा निज निर्वाचन अधिकृतले अधिवेशन नगर्ने मनसायका साथ बैठकको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न इन्कार गरेको, पार्टीका क्रियाशील सदसयहता नामावलीमा छलफल भइरहँदा एक पक्षीय साथीहरुले दुरासयपूर्ण तरिकाले उस्काउने काम गरेको, निर्वाचन अधिकृत जस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएकोप्रति खेद प्रकट गर्दछौं ।

विज्ञप्तीमा “यसअघि नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णयानुसार अधिवेशन स्थगित गर्न जारी गरिएको सूचनालाई मध्यनजर गरी निर्वाचन अधिकृतको भ्रमात्मक विज्ञप्तीप्रति सजग रहन सबैमा जानकारी गराइन्छ” भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ–क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान नगरि एकपक्षीय ढंगले अघि बढ्न खोजेमा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी स्वयं निर्वाचन अधिकृत र उक्त प्रक्रियाका पक्षधर साथीहरु रहने जानकारी समेत गराइन्छ ।

यसअघि मंगलबार दिउँसो नै निर्वाचन अधिकृत बमद्वारा जारी सूचनामा नेपाली काँग्रेस डडेल्धुराको सातौ जिल्ला अधिवेशन भदौ २५ गतेदेखि शुरु हुने उल्लेख छ ।

सूचना अनुसार २७ गते नगर र गाउँपालिका, असोज १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र ५ गते जिल्ला अधिवेशन हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार