१८ बैशाख २०८१, मंगलवार

सिकाई उपलब्धी सेयरिङ



धनगढी । सीमान्तकृत बालिकाहरू को शिक्षामा सहयोग परियोजना (स्टेम– २) को सोमबार धनगढीमा सिकाई तथा उपलब्धी सेयरिङ कार्यक्रम भएको छ ।

स्टेम–२ परियोजना सञ्चालन गरिरहेका मर्सिकोर र ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) को संयुक्त आयोजनामा परियोजनामा सिकाई, उपलब्धी तथा उत्कृष्ट अभ्यासहरू शेयरिङ गरिएको थियो ।
परियोजनाको पहिलो र दोस्रो चरणमा गरिएका क्रियाकलापले पारेका सकारात्मक प्रभाव र त्यसबाट भएका उपलब्धी र सिकाईहरू लाई सुदूरपश्चिम प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरू संग सेयरिङ गरिएको थियो ।
कार्यक्रममा परियोजनाका अधिकृत शकबहादुर बुढाले परियोजनाले बालिका शिक्षाका लागि अभिभावकहरू मा रहेको पुरानो धारणा परिवर्तन भएको बताए ।
उनले यसले गर्दा बालिकाहरू ले घरको काममा लगाउनुपर्ने समय घटेको र सो समय शिक्षाका लागि प्रयोग गर्न पाएको बताए । उनले विद्यालयहरू को वातावरणमा सुधार, शिक्षणको गुणस्तरमा सुधार, विद्यार्थीको सिकाई उपलब्धी बृद्धि लगायतको सिकाई भएको बताए ।
स्टेम परियोजनाका अधिृकत अशोक चौधरीले परियोजनाले सहकारी संस्थाहरू मार्फत् सञ्चालन गरेको सहुलियत ऋण सहायता कार्यक्रमले चार सय ३५ जना किशोरी तथा महिलाई व्यवसाय सञ्चालन गर्न सहयोग पुगेको बताए ।
उनले बीचैमा विद्यालय छोडेर ३४ वर्ष उमेर नकटेका महिलाहरू लाई व्यवसाय शुरु गर्न एक लाख रुपैयाँसम्म र चलेको व्यवसायलाई बढाउने अढाई लाख रुपैयाँसम्म जिल्ला चार वटा सहकारी संस्थामार्फत् वार्षिक आठ प्रतिशित व्याजमा ऋण प्रदान गरिएको जानकारी दिए ।
परियोजनाका फिल्ड म्यानेजर नवराज जोशीले स्टेम परियोजना अबको तीन महिनामा सकिने भएकाले सहकारीमा रहेको सो पुँजि स्थानीय तहलाई हस्तान्तरण गरिने जनाए । उनले चार वटा सहकारीमा जम्मा तीन करोड ३१ लाख २३ हजार रुपैयाँ परियोजनाले परिचालन गरेको जनाए ।
सोही पुँजिबाट ऋण लिएर व्यवसाय गरिरहेकी घोडाघोडी नगरपालिका वडा नम्बर ७ की वडा सदस्य पुर्णिमा विकले शुरुमा एक लाख रुपैया लिएर सिलाई व्यवसाय गरेको बताइन् ।
उनले पछि दुई लाख ५० हजार रुपैयाँ लिएर सिलाईसंगै किराना पसल गरेको बताइन् । ‘अहिले सिलाई र किराना दुबै बन्द गरेर बाख्रापालन गरिरहेको छु,’ उनले भनिन्– बाख्रापालन गर्न थप दुई लाख ऋण लिएको छु । अहिले ७० वटा बाख्रा पालेको छु । दुई जनालाई रोजगार दिएको छु । कक्षा ६ पढ्दै गर्दा विद्यालय छोडेको थिए । अहिले फेरि पढाई गरिरहेको छु ।
गाउँपालिका महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दुर्गादत्त जोशीले यस किसिमको परियोजना पहाडी जिल्लामा पनि सञ्चालन हुन जरुरी रहेको बताए ।
उनले यस परियोजनाका सिकाई स्थानीय तहहरू ले पनि प्रयोग गर्न आवश्यक रहेको बताए । उनले पहाडी जिल्लामा पनि छोरीहरू लाई शिक्षाका लागि कन्जुस्याइँ गर्ने गरेको पाइएकोले त्यहाँका अभिभावकहरू को सोचाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।
गाउँपालिकाका महासंघकी केन्द्रीय सदस्य उमा महतोले स्थानीय तहहरू ले पनि धेरै कार्यक्रम सञ्चालन गरिरहेको भएपनि आफ्ना कार्यक्रमको निगरानी गर्न आफूहरू ले नसकिरहेको बताइन् । उनले संस्थाहरू को सहकार्यमा स्थानीय तहको कार्यक्रमहरू प्रभावकारी बनाउन सकिने बताइन् । उनले संघसंस्थाहरू ले गरेको राम्रो कामबार्ट स्थानीय तहहरू ले पनि सिक्नुपर्ने बताइन् ।
कार्यक्रममा कैलालीको बौनियास्थित बसन्तमुरारी नमुना माविका प्रधानाध्यापक भूमिप्रकाश बम, त्रिभुवन मावि धनगढीका विद्यार्थी पुष्पा अवस्थी, कैलारी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरी लगायतले आफ्ना अनुभवहरू शेयरिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार