३ आश्विन २०८१, बिहीबार

नयाँ वर्षको उपलक्ष्यमा हाफ म्याराथुन : त्रिभुवन आर्मीका खेलाडी विजयी



धनगढी । नयाँ वर्ष २०७४ साल आगमनको उपलक्ष्यमा धनगढी जेसिजद्वारा ‘अब धनगढी दौडिन्छ’ भन्ने नारासहित शुक्रवार धनगढीमा ‘नवजीवन धनगढी हाफ म्याराथुन’ प्रतियोगिता आयोजना गरियो । २१ किलोमिटरको सो हाफ म्याराथुनमा त्रिभुवन आर्मी क्लबका खेलाडी प्रथम भए ।
त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले २१ किलोमिटरको दूरी एक घण्टा सात मिनेट ४१ सेकेण्डमा पुरा गर्दै पहिलो स्थान प्राप्त गरे ।
त्यस्तै, सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले एक घण्टा सात मिनेट ४२ सेकेण्डमा दूरी पार गर्दै द्वितीय भए भने आर्मी क्लबका कृष्ण बस्नेत एक घण्टा सात मिनेट ५१ सेकण्डसहित तृतीय भए । पार्की गत वर्षको हाफ म्याराथुनमा प्रथम भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका रिमाल, पार्की र बस्नेतले क्रमशः: ५१ हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
धनगढी जेसिजका अध्यक्ष टेकराज पनेरुका अनुसार यो म्याराथुन नेपालकै दोस्रो ठुलो धनराशी पुरस्कार भएको प्रतियोगिता हो ।
म्याराथुन धनगढी क्षेत्रीय रङ्गशालाबाट सुरु भएर गेटा हुँदै पुन: रङ्गशालामा आएर समापन भएको । प्रतियोगितामा सहभागी धावकहरूमध्ये एक सय १३ जनाले लक्ष्य पुरा गरेका थिए ।
यस्तै, कर्पोरेटतर्फ सुदूरपश्चिम मजदुर यातायात भलाई कोषका भीम चौधरी प्रथम, कैलाली बहुमुखी क्याम्पसका पुष्करराज पन्त द्वितीय र पनेरु फेन्सीका मोहन्थ पनेरु तृतीय भए । विजेताहरूलाई क्रमशः: पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
त्यस्तै, ट्राइसाईकल दौडमा सहभागी १० जनालाई एक/एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
म्याराथुन तथा अन्य प्रतियोगितामा विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य केशवकुमार विष्ट, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी र नवजीवन कोअपरेटिभ्सका अध्यक्ष रतन कठायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार