३ आश्विन २०८१, बिहीबार

छ ठाउँमा प्रकोपपीडित उद्धार घर निर्माण हुँदै



टीकापुर । कैलालीको छ स्थानमा प्रकोपपीडित उद्धार घर निर्माण हुने भएका छन् । बाढीको प्रकोपबाट बढी प्रभावित हुने बस्तीका बासिन्दालाई सो समयमा सुरक्षित बसोबासको व्यवस्था गर्न जिल्लाका छ ठाउँमा प्रकापपीडित उद्धार घर निर्माण हुने जनाइएको छ ।
कैलालीमा जिल्ला समन्वय समिति, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा टीकापुर र भजनी नगरपालिका तथा साविकको लालबोझी, धनसिंहपुर, उदासिपुर र पवेरा गाविसमा ती घर निर्माण हुन थालेका छन् ।
टीकापुरका स्थानीय सिंहबहादुर बुढामगरले प्रकोपपीडित उद्धार घर निर्माण भएमा बाढीको समयमा केही राहत मिल्ने आशा व्यक्त गरे । ‘पटक–पटक टीकापुर नगरपालिकासंग उच्च सामुदायिक घरको माग गरेका थियौँ’ उनले भने– ‘तर, नगरपालिकाले बजेट अभाव देखाउँदै हाम्रा मागको सुनुवाइ गरेको थिएन ।’ उनले जिल्ला समन्वय समिति, नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमबाट ती घर निर्माण हुने भएपछि खुसी लागेको बताए ।
‘टीकापुर क्षेत्र बाढीको उच्च जोखिम भएको क्षेत्र हो’ उनले हरेक वर्ष वर्षायाममा बसोबासका लागि समस्या हुने गरेको बताए ।
उनले ०६८ र ०६९ सालको बाढीको समयमा घरभन्दा टाढाको विद्यालयमा बसेर सुरक्षित भएको स्मरण गरे । उनले विद्यालयसम्म पुग्न विभिन्न समस्या झेल्नुपरेको पनि बताए ।
सोही स्थानका प्रेमलाल दर्लामीमगरले पनि बाढीको समयमा बसोबासका लागि सुरक्षित स्थान नभएको बताए । उनले अहिले बनाउन लागेको उच्च घरले बाढीको समयमा राहत दिने आशा व्यक्त गरे ।
सो कार्यक्रम अन्तर्गत टीकापुर नगरपालिका–५, कर्मीडाँडामा निर्माण हुन लागेको उच्च उनले घर निर्माण भइसकेपछि बाढीको उच्च जोखिममा रहेका ती क्षेत्रका ७० घरधुरी लाभान्वित हुने बताइन् । घर निर्माणमा १५ लाख पाँच हजार पाँच सय ९० रुपैयाँ लागत अनुमान रहेको छ । जसअन्तर्गत एक लाख ५५ हजार पाँच सय ९० जनश्रमदान र १३ लाख ५० हजार रुपैयाँ अनुदान प्रदान हुने जनाइएको छ ।
टीकापुर नगरपालिका–८ (साविक धनसिंहपुर–३) मा पनि १४ लाख ९६ हजार रुपैयाँ लागतमा सो घर निर्माण हुन लागेको छ । कर्णाली नदीको उच्च जोखिममा रहेको सो क्षेत्रमा सुरक्षित बसोबासका लागि भवन निर्माण हुन लागेपछि स्थानीयहरू केही ढुक्क भएको छन् ।
‘सो कार्यक्रमको पहिलो चरणको कार्यक्रम आर्थिक वर्ष ०७२/७३ मा सम्पन्न भइसकेको छ’ जिल्ला समन्वय समितिका ऊर्जा अधिकृत दीपेश ठाकुरले भने– ‘दोस्रो कार्यक्रम आर्थिक वर्ष ०७३/७४ मा आउने भएकाले यस वर्ष न्यून बजेटमा यो कार्यक्रमलाई निरन्तरता दिइएको हो ।’
उनले कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए । सो रकमबाट कैलाली जिल्ला समन्वय समितिले साविकका छ गाविसमा कल्भर्ट निर्माण तथा तटबन्ध निर्माण कार्य गरिरहेको बताए ।
मङ्गलवार जिल्ला समन्वय समिति, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम सञ्चालन भएका स्थानमा कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमली, लापा कार्यक्रमका ऊर्जा अधिकृत दीपेश ठाकुर, जिल्ला जनस्वास्थ्य कार्यालयका खगेन्द्र शाही, सामुदायिक वन उपभोक्ता महासङ्घ, कैलालीका सचिव डण्डीराज सुवेदी, नेपाल पत्रकार महासङ्घका कैलालीका अध्यक्ष जगत साउँद लगायतको सहभागितामा अनुगमन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार