३ आश्विन २०८१, बिहीबार

उद्यमशिलतामा स्नातकोत्तर पढाई सुरु



धनगढी । धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा देशभरमै पहिलो पटक स्नातकोत्तर तहमा उद्यमशिलता विषय (एमबिए–ई) अध्ययन प्रणाली सुरु गरिएको छ ।
युवाहरूलाई उद्यमशिलतामा लाग्न प्रेरित गराउने उद्देश्यले विश्व बैङ्क र युएनडिपीको आर्थिक सहयोगमा अध्ययन प्रणाली लागू भएको जनाइएको छ ।
एमबिए–ई अध्ययन प्रणालीको त्रिभुवन विश्वविद्यालय व्यवस्थापकीय संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माले उद्घाटन गर्दै एमबिए–ई कोर्षले ‘रोजगार खोज्ने युवा नभई, रोजगार दिने युवा’को उत्पादन गर्ने परिकल्पना सहित अध्ययन प्रणाली कैलाली बहुमुखी क्याम्पसमा लागू गरेको जानकारी दिए ।
‘देशभरीमै कैलाली बहुमुखी क्याम्पस विशिष्ठ पहिचान बोकेको क्याम्पस हो’ डिन प्रा.डा. शर्माले भने– ‘यही कारणले हामीले यो अध्ययन प्रणाली लागू गर्न पनि यसै क्याम्पसलाई छनौट गरेका छौँ ।’ उनले यो कार्यक्रम त्रिभुवन विश्वविद्यालयले आफ्नो नियमित कार्यक्रम अन्तर्गत नभई विश्व बैङ्क र युएनडिपीको आर्थिक सहयोगमा सञ्चालन भएको बताए ।
उनले अध्ययन प्रणालीले सुदूरपश्चिमका औद्योगिक प्रणालीको विकासमा सहयोग पुर्‍याउने बताउँदै ‘विद्यार्थी भाइबहिनी तपाईहरू कम्तीमा दुई वर्ष मेहनत गरेर पुरा समय मन लगाएर पढ्नुहोस्, शिक्षकहरूले जिम्मेवार भएर अध्यापन गराएमा आजको बजार आवश्यकताका जनशक्तिहरू उत्पादन गर्न सक्छ ।’ उनले आजको बजार आवश्यकताका जनशक्तिहरू उत्पादन भएमा राष्ट्रले आठदेखि दश वर्षभित्र अर्थतन्त्रमा परिवर्तन ल्याउने बताए । यो अध्ययनलाई प्रणालीलाई प्रभावकारी र दिगो बनाउन यहाँका उद्योगी, व्यापारी, सङ्घ/संस्था, सरकारी कार्यालयको पूर्ण सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रा.डा. प्रेमराज पन्तले यो अध्ययन प्रणालीलाई प्रभावकारी बनाउन व्यावसायिक जगतको साथ र सहयोग आवश्यक रहेको बताए । उनले यो प्रणाली भाषणमुखीभन्दा पनि सिकाई मुखी प्रणाली भएको बताए । उनले शिक्षकले पढाउने शैलीमा परिवर्तन गर्नुपर्ने सुझाव दिए । यो अध्ययन प्रणाली प्राविधिक शिक्षासँग जोडिएको र आजको बजार आवश्यकतालाई बुझेर अध्यापन गराउने पाठ्यक्रम भएकाले यसले जनशक्ति उत्पादन गर्नुसंगै राष्ट्रलाई विकासतर्फ उन्मुख गराउने विश्वास उनले व्यक्त गरे । ‘अहिले सुदूरपश्चिमको पाठ्यक्रम किन्नेको कमी छैन, त्यसैले तपाईहरू आफ्नो पाठ्यक्रम बनाउन लाग्नुहोस्’ प्राज्ञ डा. पन्तले भने । कैलाली बहुमुखी क्याम्पसलाई प्राज्ञिक स्वायक्तता प्रदान गरिसकिएकोले क्याम्पसले पाठ्यक्रम, मूल्याङ्कन र परीक्षा परिणाम आफै निकाल्ने अधिकार प्रदान गरेको भए पनि क्याम्पस सक्षम नभएसम्म त्रिभुवन विश्वविद्यालयले पूर्ण अधिकार नदिएको बताए ।
कार्यक्रममा सह–डिन प्राध्यापक डाक्टर विष्णुप्रसाद कोइरालाले क्याम्पसलाई प्राज्ञिक अधिकार प्रदान गरिसकिएकाले शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समितिका अध्यक्षहरू जिम्मेवार हुनुपर्ने बताए । उनले देशभरिका एक हजार चार सय क्याम्पसमध्ये सात सय ७७ क्याम्पसमा व्यवस्थापकीय संकाय कार्यक्रम लागू भए पनि अधिकांश क्याम्पसमा प्रभावकारी हुन नसकेको बताए । कैलाली बहुमुखी क्याम्पसले विगतमा त्रिवीले दिएका कार्यक्रमहरूमा उपलब्धि हासिल गरेका कारणले पनि यो अध्ययन प्रणाली दिएको बताए ।
कार्यक्रममा प्राध्यापक डा. हेमराज पन्त, कैलाली बहुमुखी क्याम्पसका संस्थापक सदस्य लेखराज भट्ट, वीरबहादुर जेठारा, नाष्ट क्याम्पस प्रमुख शिवहरी मुडभरी, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गिरीराज कडायत, नवजीवन सहकारी संस्थाका महाप्रबन्धक मोहनदेव भट्ट, व्यापारी मायाप्रकाश भट्ट, अनेरास्ववियूका अध्यक्ष चुडामणि भट्ट, नेविसंघका सुमन केसी, अखिल क्रान्तिकारी विद्यार्थीका सङ्घका डम्मर भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक क्याम्पस प्रमुख डा.पदमराज जोशीले गरेका थिए । कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै सहायक सहायक क्याम्पस प्रमुख जोशीले क्याम्समा अहिलेसम्म एमबिए–ई कार्यक्रममा १० जना विद्यार्थीले भर्ना लिइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार