१४ कार्तिक २०८१, बुधबार

अछाममा स्थानीयस्तरको स्वास्थ्य बिमा अभियान सुरु



अछाम । अछाम जिल्ला पूर्ण स्वास्थ्य बिमित स्थानीय अभियान शनिबारबाट सुरु भएको छ । जिल्लाको साँफेबगर नगरपालिकाबाट स्थानीय तहमा स्वास्थ्य बिमा अभियानको सुरुवात गरिएको हो ।
स्वास्थ्यमा सबै जनताको सहज पहुँच पुर्‍याउन र हरेक नागरिक जनताका लागि सर्भसुलभव स्वास्थ्य सेवा प्रदान गर्न स्थानीयस्तरमा अभियानको थालनी गरिएको स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डाक्टर उमाशंकर प्रसादले बताए ।
बिमा गर्दा सुरुमा दुई हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने छ भने सो रकमले एक परिवारका ५ जनाले ५० हजार बराबरको स्वास्थ्य सेवा नि:शुल्क पाउनेछन् । बिमित नागरिकले आफू बिरामी भएपछि आफूसँग भएको बिमा कार्ड लिएर तोकिएको उपचार केन्द्रमा जानुपर्ने हुन्छ यदि त्यहाँ उपचार सम्भव नभएपछि सो संस्थाले बिमाले तोकेका जुनसुकै स्वास्थ्य प्रदायक संस्थामा रेफर गरेपछि बिरामीले उपचार लिन सक्नेछन् ।
जिल्लाहरुको हकमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक अस्पताललाई पहिलो उपचार केन्द्रबिन्दुको रूपमा राखिएको छ ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्यव समितिका संयोजक नरबहादुर कुँवारले गरेका थिए । कार्यक्रम साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवारको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा न्याय हेल्थ नेपालका कार्यकारी दिर्नेशक एसपी कलौनी, जिल्ला जनस्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झनक ढुंगाना, नगर प्रमुख कुलबहादुर कुँवारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अछाम जिल्लामा स्वास्थ्य बिमाको अवस्थाका बारेमा जिल्ला संयोजक प्रेम बुढाले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार