शैक्षिक सामग्री हस्तान्तरण
कैलारी । जनप्रतिनिधिहरुले अभिभावकत्व ग्रहण गरेको तीन जना छात्रालाई सोमवार शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर २, विचैपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत अनाथ विद्यार्थीहरु प्रेरणा बोहरा, विपना परियार र शिवानी चौधरीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले उनीहरुलाई दसैं खर्चका लागि जनही दुई हजार रुपैया तथा विद्यालय पोशाक, झोला, कपी र कलम हस्तान्तरण गरे । जनप्रतिनिधिहरुले विद्यालय भर्ना अभियानको क्रममा ती अनाथ छात्राहरुको अभिभावकत्व ग्रहण गर्दै शैक्षिक खर्च बेहोर्ने वाचा गरेका थिए ।
कक्षा ८ मा अध्ययनरत प्रेरणाको अभिभावकत्व प्रदेश सांसद् वीरमान चौधरी, कक्षा ६ मा अध्ययनरत विपनाको गाउँपालिका अध्यक्ष लाजुरा चौधरी र कक्षा ७ मा अध्ययन गरिरहेकी शिवानी चौधरीको अभिभावकत्व वडा नम्बर २ का वडा अध्यक्ष सन्तु चौधरीले ग्रहण गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक जीतबहादुर रावत, वडा नम्बर २ का वडा अध्यक्ष चौधरी र विद्यार्थीहरुको उपस्थितिमा तीनै जना छात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।