वर्षायाममा कालोपत्रे हुँदै
डोटी । मध्य वर्षायाममा दिपायलको राजपुरमा सडक कालोपत्रे र मर्मतको काम सुरु भएको छ ।
सडकको हालको कालोपत्रे उप्काएर एक करोड रुपैयाँको लगानीमा भवन तथा शहरी विकास डिभिजनले पीएस कन्सट्रक्सनलाई ठेक्कामार्फत कालोपत्रे गराइरहेको छ ।
दिपायल–सिलगढी नगरपालिकाले दिपायलको रातामाटीमा फनपार्कको काम पनि असारमसान्तमा गराइरहेको छ । उपभोक्ता समितिमार्फत २० लाखको लगानीमा पार्कभित्र सडक, खानेपानी ट्यांकी तथा प्रतिक्षालय बनाइरहेको छ । सडक र प्रतिक्षालय बनाइसके पनि खानेपानीको ट्यांकी निर्माणाधिन छ । “सामुदायिक वन क्षेत्रमा पार्क बनिरहेकाले प्रक्रिया पुर्याउँदा पुर्याउँदै समय बढी खर्च भयो”, कुमालीकोट सामुदायिक वनका अध्यक्ष तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र कठायतले भने, “असारमै भए पनि काम सक्ने भएका छौं । यो रहर नभएर बाध्यता हो ।”
यसरी नै अहिले जिल्लाभर कसले कति विकास गर्ने भन्ने होडबाजी ने चलेको छ । गएको वर्षजस्तै यो वर्ष पनि असार मसान्तमा धमाधम विकासको काम भइरहेका छन् । यो चालु वर्षको दुई दिन बाँकी रहँदा पनि काम सकेर भुक्तानी पाउने आशमा योजनाहरू बन्ने क्रम जारी छ ।
नियमानुसार असार २५ सम्म मात्र सरकारी कार्यालयहरूले भुक्तानी दिन पाउँछन् । स्थानीय तहहरूमा भुक्तानीका लागि बढी तछाडमछाड छ । केन्द्रको सिंहदरबार गाउँमै पुगे पनि काम गर्ने प्रवृतिमा भने अझै सुधार आएको देखिँदैन । स्थानीय तहमा जनप्रतिनिधिको प्रत्यक्ष संलग्नतामा दिगो विकासको काम हुन्छ भन्ने नागरिको आश फेरि निराशामा परिणत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले स्थानीय तहहरूले यो अन्तिम सातामात्रै कुल बजेटको ३० प्रतिशत रकम भुक्तानी गरेका छन् । अझै १५ देखि २० प्रतिशत बजेटको भुक्तानी आइतबार र सोमबारमा वितरण भइरहेको छ ।
“८० जति योजनाहरूको दुई दिनमा भुक्तानी हुने गरी रात दिन खटेर काम गरिरहेका छौं”, केआईसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले भने, “समयमै काम गर्नु, काजगात ल्याएर भुक्तानी लिनुस् भने पनि उपभोक्ताहरू अन्तिम समयमा आउँछन् । त्यसले कर्मचारीलाई हैरान भएको छ ।”
केआईसिंह गाउँपालिकामा मात्र होइन्, डोटीका ९ वटै स्थानीय तहको अवस्था उही हो । दिपायल–सिलगढी र शिखर नगरपालिका, बोगटान, पूर्वीचौकी, सायल, आदर्श, जोरायल, बडीकेदार गाउँपालिकाका सदरमुकामहरूमा उपभोक्ता समितिका पदाधिकारीहरूको घुइचो छ ।
कार्यालयमा घुइचो बढ्दा भुक्तानीका लागि दुई/तीन दिन कुर्नु परिरहेको उपभोक्ताहरूको गुनासो छ । सबैभन्दा बढी सडक, खानेपानी, सिँचाई जस्ता आयोजनाका भुक्तानी हुन बाँकी छन् । यद्यपि जनचेतनामूलक कार्यक्रमहरू पहिल्यै भुक्तानी लिएर असारको अन्तिम सातासम्म कार्यक्रम आयोजना गरी खर्चने पनि अधिकांशले सुरसार गरिरहेको शिखर नगरपालिकाका बारबाटाका वीरबहादुर बिष्टले बताए ।
अन्तिम समयमा आएर भुक्तानी दिँदा कतिपय योजनाहरूको काम प्रभावकारी भए–नभएको बुझ्न नसकिने कर्मचारीहरू बताउँछन् । “यही मौकामा कर्मचारीले छोपेर कमिसन पनि माग्ने ठाउँ पाउछन्”, केआईसिंह गाउँपालिका तिखात्तरका स्थानीय मीन मलासीले भने, “नियत नै बिगारेर कतिपयले ढिलो गरी काम गर्ने गरेका छन् ।”
डोटी बहुमुखी क्याम्पसका सह–प्राध्यापक अर्जुन देउवा के कसरी काम गर्ने, नीति–नियम के छन्, कसलाई योजना सम्पन्न गर्न दिने, जस्ता अन्योलता रहेकाले काम ढिलो भएको बताए ।
उनले जनप्रतिनिधि स्पष्ट विचार र योजनासहित नआउँदासम्म र कर्मचारी र जनप्रतिनिधिबीचको द्वन्द्वका कारण विकासको काममा सधैँ लफडा भइरहने बताए ।
तर कर्मचारी र जनप्रतिनिधिहरूको आरोप उपभोक्ता तर्फ पनि छ । ढिलो गरी सम्झौता गर्न आउने, काममा ढिला सुस्ती गर्ने तथा योजनाबाट रकम जोगाउन खोज्ने प्रयासले पनि उपभोक्ताहरू अन्तिम समयमा आएर काम गर्न लागेको जिल्ला समन्वय समिति संयोजक रामबहादुर ऐरले बताए ।