विश्व सिकलसेल दिवस : बिरामीको संख्या पहिचानमै कमजोरी
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की सीमा रानाको माईतीमा १३ जना सदस्यको परिवार छ । हालसम्म उनीसहित उनको दिदी र भाइ गरी तीन जनामा सिकलसेल एनमिया रोग देखा परिसकेको छ ।
सिकलसेल एनिमियापीडित सीमाले भनिन्– “हामी तीन जनाले रगत परीक्षण गर्दा यो रोग देखियो, परिवारका अन्य सदस्यको अझैं रगत परीक्षण गरेका छैनौं ।”
सीमाले मात्र होइन् थारू समुदायमा देखा पर्ने यो रोगबारे अधिकांस अनभिज्ञ हुँदा अहिलेसम्म यकिन बिरामीको संख्या पत्ता लाग्न सकेको छैन । “आफ्नो तथा परिवारको सिकलसेल अवस्था थाहा पाऔं” भन्ने मुल नाराका साथ मंगलबार विश्व सिकलसेल दिवस मनाइरहँदा कैलालीमा सिकलसेलका बिरामीको यकिन तथ्याङ्क समेत छैन । सिकलसेल नेपाल संस्थाको तथ्याङ्कानुसार कैलालीमा चार सय भन्दा बढी सिकलसेलका बिरामीहरू रहेका छन् ।
मुटु सुनिने, शरीर काँप्ने, घाम अथवा चिसोमा काम गर्नै नसक्ने लगायतका लक्षणहरू देखापर्ने यो रोगबारे अझै धेरै थारू समुदायहरू अनविज्ञ रहेको सिकलसेल नेपालका अध्यक्ष सुरेश कठरियाले बताए ।
नेपाल सरकारले कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पताल र सुखडको घोडाघोडी अस्पतालमा सिकलसेल जाँच गर्ने मेसिनको व्यवस्था गरेको छ । सरकारले एक लाखसम्म सिकलसेल रोगको परीक्षण तथा औषधि उपचार सेवा दिइरहेको छ तर, सेवाप्रदायक संस्थाले सहज सेवा नदिँदा धेरै पीडितहरू उपचार सेवामा आउन नसकेको उनले बताए ।
सिकलसेल एनिमियाः किन र कसरी लाग्छ ?
सिकलसेलपीडित सीमाले भनिन् “औषधिहरू पुरै नि:शुल्क पाइदैन र एक्सरे गर्दा शुल्क आफैले तिर्नुपर्छ ।” उनले सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिदिएमा जिविकोपार्जनमा सहज हुने बताइन् । उनले सरकारले सिकलसेलका बिरामीका लागि नि:शुल्क औषधि वितरण गरिने भने पनि सेती अञ्चल अस्पतालको फार्मेसीमै पनि औषधि नपाएर बाहिरबाट किन्नुपरेको बताइन् ।
घोडाघोडी नगरपालिका वडा नम्बर ५ का रामबिहार चौधरीले देशमा तिनै तहका सरकारहरू गठन भए पनि हालसम्म स्थानीय तहले समेत सिकलसेलका बिरामीका लागि कुनै कार्यक्रमहरू नल्याएको गुनासो गरे । उनले सरकारले सिकलसेल विरामीलाई पूर्ण उपचार नि:शुल्कको व्यवस्था गर्नुपर्ने बताए । उनले सरकारले प्रदान गर्दै आएको एक लाखको औषधि उपचार १० महिनालाई नपुग्ने बताए ।
विश्व सिकलसेल दिवस मनाइयो
कैलालीको धनगढीमा विश्व सिकलसेल दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा सिकलसेल नेपाल, सिकलसेल एनमिया एसोसियसन अफ नेपाल, थारू कल्णणकारिणी सभा, एन्जल नेपाल, थारू नागरिक समाज, जिउगर फाउण्डेसन लगायतको आयोजनामा धनगढीमा दिवस मनाइएको थियो ।
दिवसको अवसरमा प्रदेका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायमा सिकलसेल रोगले प्रभावित पारेकाले प्रदेश सरकारले नियन्त्रणका लागि कार्यक्रम अघि बढाएको बताए ।
मन्त्री सोडारीले अहिलेको बजेट वक्तव्यमा पनि सबै प्रदेशका सामुदायिक स्वास्थ्य केन्द्रबाट सिकलसेल रोगीको उपचार तथा जाँचको व्यवस्था गर्न प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको बताए ।
उनले प्रदेश सरकारले सबै सिकलसेल बिरामीको पहिचान गरेर औषधि उपचारको पहुँचमा ल्याएर सिकलसेललाई नियन्त्रण गर्न काम गर्ने बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले धनगढी उपमहानगरपालिकाले संवेदनशील भएर सिकलसेल एनिमियाको रोकथाममा लागेको बताइन् । उपप्रमुख मिश्रले उपमहानगरपालिकाका सबै १९ वटै वडामा जनचेतनामूलक कार्यक्रमसँगै रक्त परीक्षणका साथै बिरामीलाई औषधि उपचारको पहुँचमा ल्याएर सिकलसेल रोगको नियन्त्रणमा काम गर्ने बताइन् ।
कार्यक्रममा सिकलसेल रोगका विरामी, संघ/संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।