९ आश्विन २०८३, शुक्रबार

जलवायु परिवर्तनले नेपाललाई ‘विकासको आपत्काल’मा धकेल्यो : प्रधानमन्त्री शाह



न्युयोर्क/ प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले आफ्नो योगदानभन्दा कैयौँ गुणा ठूलो मूल्य चुकाउनुपरेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०।१ प्रतिशतभन्दा पनि कम भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको बताए।

उनले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय संकट मात्र नभई ‘विकासको आपत्काल’ बनेको स्पष्ट पारे। जलवायु परिवर्तनका कारण नेपालका नागरिकको जीवन, पूर्वाधार, अर्थतन्त्र र विकासका प्रयासमा गम्भीर असर परिरहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा क्षतिपूर्तिका लागि बढी जिम्मेवारी लिनुपर्नेमा जोड दिए। जलवायु संकट सिर्जना गर्न न्यून भूमिका रहेका नेपालजस्ता मुलुकले यसको ठूलो असर भोगिरहनुपरेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।

“जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन,” उनले भने, “हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ।”

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असरबाट प्रभावित मुलुकलाई न्यायोचित सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

नेपालले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम, बाढी, पहिरो, अतिवृष्टि र अन्य जलवायुजन्य विपत्तिको जोखिम बढ्दै गएको भन्दै उनले जलवायु न्यायलाई अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनाउन आग्रह गरे।

उनले जलवायु संकटलाई विकासबाट अलग विषयका रूपमा हेर्न नहुने बताउँदै प्रभावित मुलुकको विकास अधिकार सुनिश्चित गर्न विश्व समुदायले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार