विश्वासको मतसहित मुख्यमन्त्री भट्टको यात्रा अघि बढ्यो
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा भट्टको पक्षमा ३१ मत परेको छ भने विपक्षमा १५ मत परेको छ।
सभामुख भीमबहादुर भण्डारीका अनुसार बैठकमा ४६ जना प्रदेशसभा सदस्य उपस्थित थिए। बहुमत सदस्यले पक्षमा मतदान गरेपछि भट्ट नेतृत्वको सरकारलाई प्रदेशसभाको समर्थन प्राप्त भएको घोषणा गरिएको हो।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन्। उनको पक्षमा सत्तारूढ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का २० र नेकपा एमालेका ११ सांसदले मतदान गरे। प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपाका सांसदले भने विपक्षमा मतदान गरे।
विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री भट्टले आफ्नो सरकारको प्राथमिकता सत्ता टिकाउनेभन्दा सुशासन, उत्पादन, रोजगारी, दिगो विकास र सामाजिक न्यायमा केन्द्रित हुने बताए।
उनले सुदूरपश्चिमको विकासलाई भूगोलका आधारमा विभेद हुन नदिने प्रतिबद्धता जनाउँदै पहाड, हिमाल र तराईलाई समान अवसर र प्राथमिकताका साथ अघि बढाउने बताए। कुनै वर्ग, समुदाय वा भूगोल विकासबाट पछि नपरोस् भन्ने आधारमा सरकार अघि बढ्ने उनको भनाइ थियो।
भट्टले प्रदेश सरकारप्रति जनताको विश्वास बढाउनु अहिलेको प्रमुख चुनौती भएको बताए। संघीयता र प्रदेश संरचनाप्रति उठिरहेका प्रश्नको जवाफ सरकारले आफ्नो कामबाट दिनुपर्ने उनको भनाइ थियो।
“दास र रैतीकै व्यवस्था ठीक थियो भन्ने भाष्य प्रमाणित हुने काम हामीबाट हुँदैन,” उनले भने, “प्रदेश सरकारले आफ्नो काम, संकल्प र शासन शैलीमार्फत संघीयताको औचित्य पुष्टि गर्नुपर्छ।”
सुदूरपश्चिमले विगतमा अधिकार, बजेट र विकासका लागि केन्द्रलाई दोष दिँदै आएको उल्लेख गर्दै उनले अब प्रदेशले आफ्नो जिम्मेवारीबाट पन्छिने अवस्था नरहेको बताए।
उनका अनुसार अब केन्द्रले प्रदेशलाई प्रश्न गर्ने अवस्था आएको छ—केन्द्रबाट प्राप्त अधिकार र स्रोतलाई प्रदेशले जनताको हितमा कति उपयोग गर्यो?
मुख्यमन्त्री भट्टले प्रदेशको मौलिक सामर्थ्य र पहिचानलाई आधार बनाएर समृद्धिको नयाँ बाटो तय गर्ने प्रतिबद्धता पनि जनाए। उनले जनताको जीवनसँग प्रत्यक्ष जोडिने कामलाई सरकारको सुरुवाती बिन्दु बनाउने बताए।




