२ भदौ २०८३, मंगलबार

खगराजलाई बहुमत जुटाउन प्रकाश देउवाको पद रिक्त, सुदूरपश्चिममा सत्ता समीकरणको नयाँ खेल



धनगढी- सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिनुअघि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाको पद रिक्त गरिएपछि सत्ता समीकरण थप पेचिलो बनेको छ।

लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा बिनासूचना अनुपस्थित रहेको आधारमा प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि देउवा मंगलबारदेखि प्रदेशसभा सदस्य रहेनन्। सभामुख भण्डारीले यसबारे बुधबार बस्ने प्रदेशसभा बैठकमा औपचारिक जानकारी गराउने तयारी गरेका छन्।

देउवा गत वर्ष भदौ २८ गते जेन–जी आन्दोलनपछि व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यसपछि स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अमेरिकामै बसेका उनी करिब ११ महिनादेखि नेपाल फर्किएका छैनन्।

छैटौँ अधिवेशनमा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि उनले चैत २३ गते प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै स्वास्थ्य परीक्षण तथा उपचारका लागि अमेरिका रहेको जानकारी दिएका थिए। स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता जनाए पनि त्यसपछि उनी स्वदेश फर्किएका छैनन्।

संविधानको धारा १८० (घ) मा प्रदेशसभा सदस्य सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था छ। यही व्यवस्थाअनुसार देउवाको पद रिक्त गरिएको हो।

प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनमा भएका २५ बैठकमध्ये देउवा आठवटामा मात्रै उपस्थित भएका थिए। त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उनी सहभागी भएनन्। पछिल्ला २७ बैठकमा उनको उपस्थिति शून्य रहेको सचिवालयको अभिलेखमा छ।

तर, देउवाको पद रिक्त गरिनुलाई केवल कानुनी प्रक्रियाका रूपमा मात्रै हेरिएको छैन। यो निर्णय मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिन लागेकै समयमा भएकाले सुदूरपश्चिमको नयाँ सत्ता समीकरणसँग जोडेर हेरिएको छ।

खगराजलाई विश्वासको मतको चुनौती

नेकपा संसदीय दलका नेता खगराज भट्टले साउन २९ गते मुख्यमन्त्रीको शपथ लिएका थिए। उनले बुधबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

तर उनलाई विश्वासको मत जुटाउन सहज छैन। तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा समाहित भएका सात प्रदेशसभा सदस्यमध्ये कैलाश चौधरी मात्रै नेकपा संसदीय दलको बैठकमा सहभागी भएका छन्।

खुसीराम चौधरी, घनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी, लक्ष्मण चौधरी, टीका थापा र पूर्वराज्यमन्त्री इन्दिरा गिरी बैठकमा सहभागी भएनन्। उनीहरू मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने वा नगर्ने विषयमा पनि सार्वजनिक रूपमा स्पष्ट देखिएका छैनन्।

उनीहरूले मंगलबार संसदीय दलको बैठकअघि छुट्टै बसेर सामूहिक तस्बिर खिचेका थिए। त्यसबाट आफूहरू एक ठाउँमा रहेको सन्देश दिन खोजिएको देखिन्छ। उनीहरूलाई सम्पर्क गर्दा भने विश्वासको मतबारे प्रतिक्रिया दिन तयार भएनन्।

नेकपाले भने भट्टका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ। नेकपा सांसद अक्कलबहादुर रावलले पार्टीका सबै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने दाबी गरेका छन्।

२६ मतको अंकगणित

सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ सदस्य छन्। पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी निलम्बनमा रहेकाले उनी प्रदेशसभा सदस्यको संख्यामा रहे पनि विश्वासको मतमा मतदान गर्न पाउँदैनन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय सांसद बनेका ताराप्रसाद जोशीको प्रदेशसभा सदस्य पद रिक्त भइसकेको छ। अब कांग्रेसका प्रकाश देउवाको पदसमेत रिक्त भएपछि मतदान गर्न पाउने सदस्यको संख्या थप घटेको छ।

सोडारीलाई मतदानबाट अलग राखेर देउवा र जोशीको पदसमेत रिक्त भएको अवस्थामा विश्वासको मतका लागि २६ मत आवश्यक पर्ने अवस्था बनेको छ।

यही अंकगणितले देउवाको पद रिक्त गरिनुलाई थप अर्थपूर्ण बनाएको हो।

हाल प्रदेशसभामा एमाले र नेकपाका ११/११ सांसद छन्। सभामुख भण्डारी नेकपाबाट निर्वाचित भएकाले उनले मतदान गर्न पाउँदैनन्। यसरी नेकपाको प्रभावकारी मत संख्या १० हुन्छ।

पूर्वएकीकृत समाजवादीका तीन सांसद जोड्दा १३, एमालेका ११ जोड्दा २४ र नागरिक उन्मुक्तिबाट नेकपामा आएका कैलाश चौधरीको मत जोड्दा २५ पुग्छ। त्यसैले भट्टलाई बहुमतका लागि थप एक मत आवश्यक देखिन्छ।

त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी खिमा विष्टलाई आफ्नो पक्षमा ल्याउने प्रयास भइरहेको चर्चा छ। तर राप्रपाले केन्द्रबाटै सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरिसकेको छ।

यदि विष्टलाई साथमा लिन नसके नेकपा र एमालेले नागरिक उन्मुक्तिबाट नेकपामा आएका अन्य सांसदमध्ये केहीलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्नुपर्ने हुन्छ।

देउवाको पद रिक्त गरिनुमा कांग्रेसको प्रश्न

कांग्रेस सांसद सरस्वती खड्काले देउवाको पद रिक्त गरिएको विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएकी छन्।

‘म अहिले काठमाडौंमा छु। यसबारेमा कुनै किसिमको जानकारी छैन। देउवाको पद खाली राख्नेबारेमा हाम्रो दलको बैठकमा कुनै कुरा पनि भएको छैन,’ उनले भनिन्, ‘हामीले छलफल नै गर्न नपाई सभामुखले एक्कासि कसरी देउवाको पद खाली भएको निर्णय गर्नुभयो होला र ? कम्तीमा हामीले दलको बैठकमा एक पटक छलफल गर्न पाएका छैनौँ।’

यसले देउवाको पद रिक्त गर्ने निर्णयलाई लिएर कांग्रेसले प्रदेशसभा र कानुनी तहबाट प्रश्न उठाउन सक्ने संकेत देखिएको छ।

बहुमत नपुगे मिति सार्ने विकल्प

मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने तयारी गरे पनि आवश्यक संख्या नपुग्ने अवस्था आए विश्वासको मत लिने मिति पछाडि सार्ने विकल्पमा एमाले र नेकपा रहेको बताइएको छ।

प्रदेशसभामा विश्वासको मत लिन मुख्यमन्त्रीसँग अझै करिब एक महिनाको समय रहेकाले तत्काल मतदान नगरी राजनीतिक संवादमार्फत बहुमत जुटाउने रणनीति लिन सकिने नेकपा सांसद अक्कल रावलले बताएका छन्।

भट्टले विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। यसअघि एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ।

यसरी हेर्दा प्रकाश देउवाको पद रिक्त हुनु कानुनी प्रक्रियाको परिणाम भए पनि त्यसको समय र सुदूरपश्चिमको बदलिएको सत्ता समीकरणबीचको सम्बन्धलाई लिएर राजनीतिक बहस सुरु भएको छ। खगराज भट्टको सरकार टिकाउन आवश्यक एक–दुई मतको खोजी भइरहेका बेला कांग्रेस सांसदको पद रिक्त हुनुले प्रदेशको सत्ता अंकगणितलाई थप रोचक बनाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार